पु.समाचार

नेपाल–चीन सिमा समस्याः विज्ञ टोली हुम्ला पठाउन सरकारसँग माग

११ अअसोज, काठमाडौं । नेपाल र चीनबीचको सिमाना यकिन गर्न प्राविधिकसहितको विज्ञ टोली हुम्ला पठाउन विभिन्न राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सीमा विवादका विषयमा बाहिर आएका कुरालाई वैज्ञानिक ढंगले टुंगो लगाउनुपर्ने नेकपा केन्द्रीय सदस्य विजय भण्डारीले बताएका छन् ।

चीनले नौवटा नयाँ भवन बनाएको क्षेत्र नाम्खा गाउँपालिका–६ लाप्चामा पर्ने विषयमा समाचार आएपछि सिमकोटमा सर्वदलीय बैठक बसेको थियो। नेपालीले लामो समयदेखि भोगचलन गरेको क्षेत्रमा चीनले भवन बनाएको भन्दै बैठकले स्थलगत अध्ययन गरी समस्या समाधान गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले ग्याक्पु दोसायता ललुङजोङमा भवन बनाएको स्थान सीमास्तम्भ १२ नम्बरनजिक रहेकाले सो कुरा स्पष्ट गर्न सीमा हेर्ने विज्ञ टोली पठाएर विवादको दीर्घकालीन समाधान गर्न आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभामा प्रतिपक्षी नेता जीवनबहादुर शाहीले सीमा क्षेत्रको अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले यकिन खबर नल्याएको बताए । त्यसकारण सिमानाको वास्तविक अवस्था पत्ता लगाउन विज्ञ टोली पठाउन आग्रह गरिएको उनको भनाइ छ । उक्त बैठक संघीय सांसद छक्कबहादुर लामा र शाहीको उपस्थितिमा बसेको थियो। सांसद लामाले प्रक्रियागत रूपमा सीमा हेर्ने विज्ञ टोली जिल्लामा ल्याउन पहल गर्ने बताए ।