अन्तर्राष्ट्रिय

सुधारवादी सरकार गठन प्रयास विफल भएपछि लेबनानका प्रधानमन्त्रीद्वारा राजिनामा

एजेन्सी । लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् ।

लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।

लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजारौं व्यक्ति घाइते भएका थिए । अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो ।

“म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भने । “मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उनले भने ।

धेरै धार्मिक समूहद्वारा पास भएर सरकार गठन हुने हुँदा लेबनानमा सरकार गठनमा प्रायः महिनौं लाग्छ । यसका लागि विनाशकारी १९७५ देखि १९९० सम्म भएको गृहयुद्धलाई अन्त्य गर्न गरिएका प्रमुख निर्णयहरूमा मुख्य दलहरूबीच सहमति आवश्यक पर्दछ । धेरैथरी धार्मिक समुदाय भएको यो राज्यमा सत्ता समीकरणका लागि भएको सहमतिका कारण सरकार गठन प्रक्रिया झन्झटिलो रहेको छ ।

लेबनानका ठूला शिया समुदायहरू अमल र हेज्बुल्लाको प्रतिनिधित्व गर्ने दुई मुख्य पार्टीहरुले नयाँ लाइनमा अगाडि बढ्ने अदीबको प्रयासहरुलाई सहयोग नगरेपछि सरकार गठन प्रक्रिया सफल हुन नसकेको उनको दावी छ ।

दुई दलले अर्थ मन्त्रालयलाई आफ्नो नियन्त्रणमा राख्ने आफ्नो मागलाई नमानेका र खासगरी अमेरिकालगायतका दातृ राष्ट्रको प्रधानमन्त्रीको पकडमा अर्थमन्त्री रहनुपर्ने दवावका कारण सरकार गठन प्रक्रिया अन्ततः असफल भएको छ ।

विश्लेषकहरूले अमलका एक पूर्व मन्त्री र हेज्बुल्लाहसम्वन्धित व्यवसायकाबिरूद्ध हालसालै लगाइएको अमेरिकी प्रतिबन्धलगायतका कारण पनि सरकार गठन प्रक्रिया असफल भएको बताएका छन् ।

राजनीतिमा कम पकड रहेका पूर्व राजदूत अविवलाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको लेबनान भ्रमणको केही घण्टा पहिलेमात्र गत अगस्ट ३१ राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिएको थियो ।