गण्डकी प्रदेश

बागलुङमा गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे’ सेवा सञ्चालन

१० असोज, बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याएको छ ।

टाढाको ग्रामीण क्षेत्रबाट नगरपालिका आउन नसक्ने गर्भवती महिलालाई सहज रुपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याइएको हो । कुश्मीशेरा बजार तथा टाढाका कुनै पनि स्वास्थ्य संस्थामा जान नसकेको अवस्थामा तालीम प्राप्त स्वास्थ्यकर्मीले गाउँघरमा नै पुगेर गर्भवती महिलालाई भिडियो एक्सरे सेवा प्रदान गर्ने छ ।

पहिलो चरणमा नगरपालिका–३ स्थित उपल्लो दमेक, वडा नं.७ स्थित जैदी, वडा नं.८ स्थित छिस्ती र वडा नं. १० स्थित राङ्खानी स्वास्थ्य संस्थाबाट यो सेवा सञ्चालनमा ल्याएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिए । यसअघि नगरपालिका गर्भवती महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले मात्रै ‘भिडियो एक्स–रे’ सेवा प्रदान गर्दै आएको थियो ।

यो कार्यक्रमका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शसर्त अनुदान रु एक लाख र नगरपालिकाको तीन लाख गरी कूल चार लाख वजेट विनियोजन गरिएको छ । विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागी भएका छन् । असोजको पहिलो सातादेखि कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमअन्र्तगत हालसम्म ४५ जना गर्भवती महिलाले सेवा प्राप्त गरेका छन् ।
“सबैको पहुँचमा सूचना नपुगेको पनि हुन सक्छ” स्वास्थ्यकर्मी सुनिता चालिसेले भने, “यो सेवा प्रभावकारी हुने देखियो, यसप्रति धेरै गर्भवती महिला उत्साहित छन् ।” गर्भवती महिलाले चार पटक गर्भ जाँच गर्नुपर्छ । स्वास्थ्य शाखाले हरेक तीन महिनामा घुम्तीसेवा सञ्चालन गर्ने योजना बनाएको छ ।

गाउँघरमा यो सेवा नहुँदा यहाँका महिलाहरुलाई निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउन बुटवल, पोखरा तथा धौलागिरी अञ्चल अस्पताल बागलुङमा जानुपर्ने बाध्यता थियो । स्थानीय स्वास्थ्य चौकीमा नियमित रुपमा गर्भ जाँच गराउने महिलाहरु पनि भिडियो एक्स रे सेवामा सहभागी हुने भएको छ । गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउन भिडियो एक्स–रे गर्न टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुँदा निकै खुशी लागेको जैमिनी–८ छिस्तीकी गर्भवती रमादेवी रेग्मीले बताए। “वर्षायाममा गाउँको बाटो अप्ठ्यारो, कोरोनाको डर, बागलुङ बजार कसरी जानेहोला भन्ने चिन्ता लागेको थियो”, उनले भने, “ अहिले गाउँकै स्वास्थ्य चौकीमा यो सेवा लिन पायौं । निकै सहज भयो, पैसाको बचतसँगै जोखिम पनि मोल्नुपरेन ।”

घुम्ती सेवाका लागि नगरपालिकाले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तालिम प्राप्त सिनियर अनमी मनिकला थापा र लक्ष्मी शर्मालाई जिम्मेवारी दिएको छ । उक्त सेवा प्रदान गर्न डिजिटल भिडियो एक्सरे भएका कारण तालीम प्राप्त स्वास्थ्यकर्मीले सेवा दिन सक्नेछन् ।

यो सेवा सबै गर्भवती महिलालाई निःशुल्क रुपमा प्रदान गरिएको छ । कार्यक्रम सञ्चालन भएसँगै जैमिनी क्षेत्रमा मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झारिने नगरप्रमुख इन्द्रराज पौडेलले बताए । नगरपालिकाले सुरक्षित मातृत्वसँगै परिवार नियोजनका कार्यक्रमलाई पनि अघि बढाएको छ ।