प्रदेश 2

भोलिदेखि मिर्चैयामा विद्यालय सञ्चालन हुने

१० असोज, लहान । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने भएको हो ।

मिर्चैया नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ ।

कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, बन्दाबन्दी अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ । विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ ।

यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ ।

अविरल वर्षाका कारण जनजीवन प्रभावित

विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहज रुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने बजारमा चहलपहल घटेको छ ।

दिनभरि नै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको धेरै ठाउँमा हिलाम्य भएको छ । त्यस सडकमा सहजरुपमा सवारीसाधान तथा पैदल समेत हिड्न सकिरहेको छैन् ।
निरन्तरको वर्षाका कारण जिल्लास्थित नदीमा जलस्तर बढे पनि त्यस्तो र भौतिक र मानवीय क्षति अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैबीच अविरल वर्षासँगै कमला नदीमा बहाव बढ्दै गएपछि आसपासको स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।