उर्जा

रुकुमपूर्वमा पहिराले विद्युत् सेवा अवरुद्ध

१० असोज, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएसँगै भूमे–२ का नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । यही असोज ७ गते वर्षासँगै झरेको पहिरोले नहरमा क्षति पु¥याएको थियो । त्यसै दिनदेखि सो विद्युत् आयोजनाको विद्युत् सेवा रोकिएपछि नागरिक समस्यामा परेका हुन् । पैतालीस किलोवाट क्षमताको उक्त विद्युत् आयोजना बन्द भएसँगै आधा दर्जनभन्दा बढी गाउँका ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएको विद्युत् आयोजना व्यवस्थापन समिति सचिव पृथीबहादुर बुढाले जानकारी दिए । उनकाअनुसार अहिले गाउँपालिका केन्द्र खावाङसहित काँक्री, लावाङ, गावाङ, दवाङ, जङ्गाधारालगायतका ठाउँका मानिसहरु विद्युत् सेवाबाट बञ्चित हुनुपरेको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै मोबाइल चार्ज गर्न, साँझ बिहान बत्ती बाल्न र अन्य विद्युतीय काम गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् ।

समितिले भने वर्षा कम भएपछि मात्रै आयोजना मर्मतको काम गर्ने जनाएको छ । अहिले पनि निरन्तर पहिरो झरिरहेकाले तत्कालै नहर मर्मतको काम सम्भव नभएको व्यवस्थापन समितिका सचिव बुढाले बताए ।