पु.समाचार

महिला सङ्घ र अनेराश्ववियूले बालीका बलात्कारीलाई गरे कडा कारवाहीको माग

१० असोज, काठमाडौं । नेकपा भातृसंस्था अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ)ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ ।
अनेमसङ्घका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेका हुन् । उनीहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् । बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका कामीको यही असोज ७ गते घरबाट पशुचौपया बाँध्न सिमछाना भन्ने ठाउँमा गएको बेला अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो ।
यस्तै अनेरास्ववियुका संयोजक ऐन महरले पनि विज्ञप्ति जारी गर्दै बालिकामाथि बलात्कारपछि हत्या गरेको जघन्य अपराधका दोषीलाई कारवाहीको माग गरेका छन् । उनले पीडित परिवारलाई उचित परिपूरणको व्यवस्थाको समेत माग गरेका छन् । उनले सरकारले तेजाब (एसिड) प्रहार गर्ने अपराधीलाई ऐनमार्फत नै कडा कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको जस्तै बलत्कारीलाई पनि ऐन संशोधन गरेर कडा कारवाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।