प्रदेश 1

ताप्लेजुङमा धारिलो हतियारबाट तीन घाइते

९ असोज, ताप्लेजुङ । एक युवकको धारिलो हतियारको आक्रमणमा परि गम्भीर घाइते भएका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार मध्यरातमा स्थानीय लाक्पा भोटेले घरेलु हतियार बाम्फोकले अन्धाधुन्ध प्रहार गर्दा गम्भीर घाइते बनेका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई झण्डै ३८ घण्टा पछि उद्धार गरि आज उपचारार्थ काठमाडौँ लगिएको छ । टाउको र गर्धनमा गहिरो चोट लागेको उनीहरुको त्रिविवि शिक्षण अस्पतालमा उपचार भैरहेको जनाइएकोे छ ।

काठमाडौँबाट उडेको हेलिकप्टर मौसम प्रतिकूलहुँदा रुम्जाटार, भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका स्थानमा बस्दै आज दिउँसो मात्र याम्फुदिनमा आइपुगेको वडाअध्यक्ष टसी भोटेले जानकारी दिए । “हेलिकप्टर झिकायौ । हिजो विहानैदेखि मौसम राम्रो थिएन । घाइतेलाई बोकेर कतै लैजाने अवस्था पनि नदेखिए पछि हेलिकप्टरकै भरमा थियौँ । बिहानै काठमाडौँबाट उडेको हेलिकप्टर मौसम अनुकूल नहुँदा ठाउँठाउँमा बस्दै आज आयो र घाइतेलाई लिएर फर्कियो” उनले भने ।

बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पालाई बिहीबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । घर नजिकैको पराल राख्ने खोल्माबाट लाक्पालाई पक्राउ गरेको उनले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैराखेको जनाएको छ ।