पु.समाचार

पर्सामा मुटु र मृगौलाबाट पीडित ७७ वर्षे कोरोना संक्रमित बृद्धको मृत्यु

९ असोज, वीरगञ्ज । पर्साको वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका १ का ७७ वर्षीय संक्रमित पुरुषको वीरगन्जस्थित बाबा होटलमा नेशनल मेडिकल कलेजले संचालन गरेको अस्थायी कोभिड अस्पतालमा बिहीबार राती मृत्यु भएको हो ।

कोभिड अस्पतालको भेन्टिलेटरमा उपचाररत ती वृद्धको बिहीबार राती पौने ९ बजे मृत्यु भएको कोभिड अस्पतालका सम्पर्क व्यक्ति डाक्टर असरफ हुसेनले जानकारी दिए ।

मुटु र मृगौलाका रोगी ती वृद्धको स्वास्थ्यमा समस्या भएपछि गत असोज ७ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएपछि बाबा होटलको अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । साउनयतामा मात्रै ६३ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६७ मध्ये २ बेवारिसे पुरुषसहित पर्साका ४६ जना, बाराका १५ जना , रौतहटका ५ जना र सर्लाहीका १ जना रहेका छन् ।