कर्णाली प्रदेश

कार्कीगाउँ जान वर्षौँदेखिको सहारा बनेको छ तुइन, धेरैले गुमाए अकालमा ज्यान

९ असोज, जाजरकोट । पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका–१ सालतडा र शिवालय गाउँपालिका–९ बालुवामा वर्षौँदेखि तुइनको सहारामा वारपार हुँदै आएको छ । दैनिक त्यही तुइनको सहाराबाट स्थानीय वारपार गर्छन् ।
जाजरकोटको शिवालय गाउँपालिका–१ का कालीबहादुर पुन नदी तरेर पारीपट्टि जानु परे तुइनकैै सहारा लिनुपर्ने बाध्यता रहेको सुनाउँछन् । नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै सहारा लिनुपरेको उनको भनाइ छ । झोलुङ्गे पुलको लागि पटक–पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले गुनासो गरे । शिवालय गाउँपालिका–१ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड (खोला)ं तर्न स्थानीयवासीले वर्षौँदेखि तुइनको सहारा लिने गरेका छन् । तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो ।
वर्षात्को समयमा पाँच घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गथ्र्यौँ छेडागाड नगरपालिका १२ कार्कीगाउँका रामबहादुर खत्रीले भने, “चिन्डा, नाउ (डुङ्गा) लगायत साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए । २५ वर्षअघि तुइन बनेपछि जोखिम भए पनि केही सहज त भएको तर महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ ।”
तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको स्थानीयवासी बताउँछन् ।