विचार/ब्लग

चेन्नाईसङ्गको मेरो सन्निकटता

पुण्य आचार्य/कुनै ब्यक्तिहरुले लेखेका संस्मरणहरुले पाठकहरुलाई उक्त ब्यक्तिले देखेका ठाउँहरुमा पुर्‍याउँछन्, घुमेका स्थलहरु घुमाउँछन्, खाएका बस्तुहरु खुवाउँछन् एवं गरेका अनुभवहरुको अनुभूती गराउँछन्, त्यसैले संस्मरणहरु शक्तिशाली हुन्छन्। भनिन्छ एक पटकको भ्रमणले हजारौं पुस्तकहरुबाट प्राप्त हुन सक्ने ज्ञान मिल्न सक्छ। धेरै मानिसहरूलाई त्यसरी भ्रमण गर्ने अवसर नै मिल्दैनः मिलीहाले पनि त्यसलाई अर्थात त्यस भ्रमणबाट प्राप्त अनुभूतिलाई अभिव्यक्त गर्न सक्तैनन् वा भनौं अरुलाई बाँढ्न जान्दैनन्। शायद लाखौं ब्यक्तिहरुका संस्मरणहरु यसै कारणले विलीन भएर गएका पनि होलान्। आफूले संगालेको अनुभव र अनुभूतिलाई साहित्यिक संस्मरणको आवरणभित्र कैद गरेर स्वच्छन्दरुपमा सबैकालागि अझ भनौं सधैंकालागी पोख्न सक्नु अर्को एउटा छुट्टै क्षमता हो। यस्तो क्षमता सबकोहीमा हुँदैन भने कसै कसैमा अब्बल कोटीको पनि हुन सक्छ। क्षमता हुनु नहुनु आ-आफ्नो कुरो भए पनि प्रयास गर्नु चाहीँ सबैभन्दा बढी महत्वपूर्ण पक्ष हो भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै मुहारपुस्तिकाका पाठकबृन्द सामु एउटा सानो संस्मरण पस्किने जमर्को गरेको छु। नेपालको राजधानी नगरी काठमाण्डुबाट दक्षिण भारतको तामिलनाडु राज्यको राजधानी नगरी चेन्नाईको सेरोफेरोभित्र अटाएका आफ्ना अनुभुतिजन्य भावनालाई यसभित्र समेट्ने प्रयास गरेको छु।
दुई हजार एकसट्ठी साल असोजको कुरो हो– एक्कासि मेरो एउटा आँखामा नयाँ समस्या देखा पर्‍यो। लगभग जन्म कालदेखि नै म आँखाको रोगी थिएँ। खोटाङ जिल्लाको दिप्लुङ, सोभे जस्तो बिकट ठाउँमा जन्मेको मलाई तत्काल उपचार गराउने कुरो असम्भव थियो। पछि म जान्ने बुझ्ने भएपछि थाहा पाएँ स्थानीय तवरमै मेरो आँखाको उपचार गर्न थालिएछ। बुज्रुकहरु आएर यो हाल्दिनु त्यो हाल्दिनु भनेर सिकाउँदा रहेछन्ः मेरा अन्जान मातापिता त्यसै गर्नु हुँदो रहेछ। जडिबुटी र दबाईऔषधिका रुपमा परिचित सबैजसो बस्तुहरुले मेरा आँखाभित्र पस्ने सौभाग्य पाएछ्न्। रोगको राग मेटाउने नाउँमा खोर्सानीको धुलोले समेत राम्रो भुमिका खेल्ने अवसर पाएछ। जब म बुझ्ने भएर त्यस्ता कुरा सुन्दथेँ, मेरो आङ जिरिङ्ग हुन्थ्यो। खोर्सानी, अदुवा, बेसार, हिङ, केजातिका पातको रस, उजातिका पातको रस जस्ता सयौं बस्तुहरुलाई मेरा कलिला आँखाले औषधीय पाहुनाका रूपमा बडो कठोरता एवं पीडापूर्वक स्वागत गर्नु परेछ। त्यति हुँदाहुँदै पनि म अलिअलि चाहीँ देख्तो रहेँछु र आफ्ना दौँतरीहरुसङ्ग उनीहरू बराबरै हरेक कुरामा सरिक हुन र प्रतिस्पर्धा समेत गर्न खोज्दो रहेछु। छ सात वर्षको उमेरमा झापा तराईमा बसाई सरेपछी स्कुल पढ्न शिशु कक्षामा भर्ना भएँ। म कक्षा आठमा पढ्दै गर्दा भद्रपुरमा आँखा शिविरमा मेरो पहिलो पल्ट आँखा अपरेसन भयो। त्यसपछि म आइ।ए। पढ्दै गर्दा पुनः भद्रपुरमै आँखा शिविरमै मेरो उही दाहिने आँखामै दोस्रो पट्क अपरेसन भयो। अपरेसनपछि केहि सुधार भए पनि किताबमा नाकै जोतेर पढ्नुपर्ने अवस्था कायम रहीरह्यो। म बीरेन्द्र मा.वि. चन्द्रगढीमा शिक्षण पेशामा संलग्न थिएँ। ममाथी राजनैतिक अभियोग लाग्यो अर्थात् मलाई सरकार लाग्यो र म झापा छोडेर काठमाण्डु आएँ र स्कुल कलेजहरुमा पढाउँन थालेँ। यो थियो २०४२ सालको कुरो। त्यसपछी २०६१ सालमा मेरो त्यही देख्ने चाहीँ आँखामा नयाँ खाले समस्या आयो। तृपुरेश्वर आँखा अस्पतालमा जचाँउदा RD (रेटिना ड्यामेज) अर्थात रेटिनाको पर्दा फाटेको पत्ता लाग्यो र त्यहाँका डाक्टर बेञ्जुद्वारा मेरो दाहिने आँखाको तेस्रो अपरेसन भयो। करीब एक महिना पछि जचाउँदा पर्दा जोडिएको थियो र म देख्न पनि थालेँ। डाक्टरको सल्लाह बमोजिम लेखपढ नगरे पनि हिडडुल भने गर्न थालेँ। अब डाक्टर बेञ्जु मलाई चस्मा रेफर गर्न लाग्दै थिए फेरि मेरो रेटिनाको पर्दा फाट्यो। डाक्टर बेञ्जुले मलाई चेन्नाईमा रहेको शङ्कर नेत्रालयमा जान रेफर गरे। मसङ्ग न सुको थियो न कौडी, न कञ्चो थियो न दमडी। तैपनी म चेन्नाई जान तयार भएँ। ॠणै सहीः आफन्त र साथीभाइले पैसा जुटाइदिने देखी हवाइजहाजको टिकट मिलाउने सम्मको काममा ठुलो सहयोग गरे। यसरी मेरो चेन्नाई यात्रा तय भयो र यो नै थियो मेरो चेन्नाईसङ्गको सन्निकटताको पृष्ठभुमि।
काठमाण्डुबाट सिधै चेन्नाई हवाई सम्पर्क रहेनछ त्यसकारण मैले बेङ्लोर जानुपर्‍यो। यो नै मेरो जीवनको पहिलो हवाईजहाजको यात्रा पनि थियो। दुबै आँखा नदेख्ने, अर्काले डोर्‍याएर हिंडाउनु पर्ने, अनिश्चित भविष्य, ॠणको बोझ आदि इत्यादिका कारण होला मलाई जीन्दगीको पहिलो हवाई यात्रा खासै रोमाञ्चक लागेन। मनमा बिभिन्न कुराहरु खेलीरहे। तीन घण्टाको त्यो यात्रा रोमाञ्चक हुनुपर्नेमा पट्ट्यारलाग्दो भयो। यात्रा अवाधीभरी दृष्टिबिहीनहरुले गाउने गरेको गीतको एउटा गेडी याद आईरह्यो, ‘सबै कुरा भएको राम्रो, अन्धो हुनु बहुतै नराम्रो।’मलाई यात्रामा साथ दिनुभएको थियो मेरा साडुभाइ बिद्यानाथ भट्टराईजीले। मङ्सिरमा काठमाण्डुको जाडो मौसमबाट बेङ्लोरको गर्मीमा एकैचोटि पुग्दा गर्मी खान गार्‍हो भयो। चेन्नाई जाने बसको टिकट बेलुका साढे ६ बजेको भएकाले हामीले होटेलको एउटा कोठा लियौँ। ६ बजे कोठा छोडेर हामी बस काउण्टर गयौं। सात बज्दासम्म पनि हाम्रो बस आएन। मन अत्तालिन थाल्यो। पर्खिदा पर्खिदै आठ बज्यो। मनमा डरले घर गर्न थाल्यो। काउण्टर वरिपरिको चहलपहल पनि निकै घटीसक्यो। बिरानो ठाउँ, छिप्पीँदो रात–मनमा अनेक शङ्का उपशङ्का उब्जिन थाले। भएको पैसा र झोला झाम्टा पनि लुटिने पो हो कि जस्तो लाग्न थाल्यो। नौ बज्दा पनि बस आएन। अब हाम्रो काउण्टरमा मात्रै टिकट काट्ने मान्छे छ अनि हामी दुई जना मात्रै( डर बढ्दै जान थाल्यो। काउण्टरवाला Bus comes ; Don`t worry भन्दै हामीलाई बारम्बार भनी रहन्थ्यो। अब दसै बज्यो। बिद्याजी र म एक अर्काको मुख हेर्न थाल्यौं एक शब्द नबोली( मानौं हाम्रो बोली नै हरायो। त्यही बेला एउटा बस आइपुग्यो। त्यो चाहीँ हाम्रो बस रहेछ। काउण्टरवालाले हामीलाई लगेर सीटमा राखेर ओर्लियो। बस गुड्न थाल्योः यात्रु हामी दुई जना मात्रै। डरको सीमा घट्ने कुनै गुञ्जायस नै देखिएन। रातको मामलो कहाँ लगेर के पो गर्ने हुन् कि? एक मनले पैसाको र झोलाको माया मारेर ज्यानको मात्रै माया गर्न थाल्यो। अर्को ठाउँमा बस रोकियो र चार जना हेर्दै डरलाग्दा मुस्दण्ड मान्छेहरु चढे। उनीहरूले बोलेको फुट्टिभाङ केहि बुझिए त मर्नु। फेरि ड्राइभरसङ्ग पनि कुरा गर्छन्। खोज्न आउनेहरुले ठाउँ समेत पत्तो नपाउने भए भन्ने सोच आयो। अर्को ठाउँमा पुगेपछी अरु आठ दस जना मान्छे चढे। अब चाहीँ यो यात्रु बसै हो रछ क्यार जस्तो लाग्यो। तैपनी छेउका एक जनालाई Where does this bus go? भनेर सोधेँ। उनले चेन्नाई भनेपछि अलि ढुक्क भयो। केहि पर पुगेपछि केहि महिला केटाकेटी समेत हुरुरु चढे। अब चाहीँ डरको आयतन स्वाट्टै घटेर निकै ख्याउटे भयो। बस गुडेपछी बत्ती निभ्यो र गीत बज्न थाल्यो। मलाई फेरि नाइट बसमा यात्रा गर्दा पट्टक्कै निन्द्रा नलाग्ने। नबुझे पनि गीत सुन्नु मेरो बाध्यता बन्यो। सुन्दै गएँ –गायिकाको स्वर मिठो लाग्दै गयो। त्यो गीत कि त कर्णाटक राज्यमा बोलिने कन्नाडा भाषाको कि त तामिलनाडु राज्यमा बोलिने तामिल भाषाको थियो होला। जे होस् त्यो गीत निकै राम्रो लाग्यो मलाई र ड्राइभरलाई पनि मन परेरै त होला निकै पटक त्यही गीत बजाइरहेको थियो। अँध्यारो रात– बाहिरको दृश्य देखिनु नदेखिनुसङ्ग मलाई खासै सरोकारै भएन। बाटामा रेल पास हुन बस रोकियो। त्यो रेलको छुक छुक आवाज चाहीँ मैले आनन्द लिएर सुनीरहेँ। यसरी रात कटाएर चेन्नाईको टि नगर पुगेर बिहान ओर्लियौँ। पहिला शङ्करा नेत्रालाय पुगेर कुरो बुझौँ अनि बस्ने फ्रेश हुने गरौंला भन्ने सल्लाह भयो र अटो लिएर शङ्करा नेत्रालय पुग्यौं।
त्यहाँको सिस्टम अनुसार पहिल्यै टोकन लिनु पर्दो रहेछ। कुरो नबुझेर हामीले टोकन लिन ढिलो गर्‍यौं। पहिलो जाँच इमर्जेन्सीमा हुँदो रहेछ। त्यहाँ त डाक्टर आफैं बाहिर निस्केर नाम बोलाउँदा रहेछन्। त्यहाँको systemमा छिरीसकेपछी दायाँबायाँ केहि गर्न नपाइने रहेछ। (हाम्रो देशमा त system भनेको कुन चराको नाम हो भनेर पो सोध्छन्–जताततै।) ती डाक्टरले मेरो केस हिस्ट्री तयार पारे। दुबै आँखाको नक्सा बनाएर के के कोरे पनि। त्यो सबै दिएर अर्को डाक्टर कहाँ पठाए। हो यस्तो समयमा त्यहाँका स्टाफले हामीलाई निकै मजाले गाइड गर्दा रहेछन्। अन्तिम चरणको परीक्षण चाहीँ अलि अर्कै ठाउँतिर हुने रहेछ र त्यहाँ चाहीँ। बेलुकापख जाने निर्णय गर्‍यौं । कुनै सामान्य लाग्ने होटेलमा फ्रेश भएर खाना खाएपछि एउटा लज खोज्यौँ। चार बजेतिर शङ्करा नेत्रालयको अर्को ब्लक गयौं। त्यहाँ परीक्षण भैसकेपछी अपरेसनको मिति पछि तोकिने भनियो। मैले मोबाइल लिएर गएको थिएँ। दिउँसो सीम पनि लिएको भएर सम्पर्क नम्बर दिएर हिड्यौँ। एक जना गङ्गाबहादुर नाम गरेका नेपाली भेटिए। उनले सस्तो लज खोज्न मदत गरे। धेरै दिन कुर्दा पनि अस्पतालबाट कुनै सुचना आएन। लजमा आफैं पकाएर खाने सुबिधा भए पनि खर्च हुन्थ्यो नै। चेन्नाईमा ठुलै सरकारी आँखा अस्पताल पनि रहेछ। मैले त्यसैमा अपरेसन गर्छु बरु भन्दा विद्याजी मान्नु भएन। लगभग २० दिन जति पछी अस्पतालबाट फोन आयो डाक्टर प्रमोद भेण्डेले मेरो अपरेसन गर्ने भएछन्। तोकिएको मितिमा मेरो दाहिने आँखाको चौथो पटक अपरेशन भयो। यता आङरिता शेर्पा बाबुछिरी शेर्पा, कामी शेर्पाहरु सगरमाथा चढ्ने कीर्तिमान कायम गर्दै थिए उता म आँखा अपरेसन गराउने कीर्तिमान कायम गराउँदै थिएँ। अपरेसन पछि मेरो आँखा खुल्योः केहि भिजन पनि आयो। मेरो अपरेसन गर्ने डाक्टर त्यहाँको दोस्रो बरियता क्रमका रहेछन्। यसरी पहिलो पटक चेन्नाई बस्दा मैले केहि संस्मरणयोग्य अनुभुति संगाल्न पाएको थिएँ।
समुन्द्रसंगको सामिप्य नपाएका मजस्ता भुपरिवेष्ठित मुलुकका मानिसहरुलाई समुन्द्र तटमा गएर सामुन्दृक छालहरुलाई अङ्कमाल गर्न पाउँदा अनुपम आनन्द मिल्दोरहेछ। भनिन्छ समुन्द्र तटका मानिसहरुलाई धेरै कुरा दिन्छ पनि र धेरै कुरा उनीहरुबाट लिन्छ पनि। म चेन्नाईमै भएका बेला सुनामी आएको थियो। ठुलै भुइँचालो पनि आयो। चेन्नाईमा ठुलो भाग दौड मच्चियो। समुन्द्र शहरतिर पस्तैछ भन्ने हल्ला फैलियो। सुनामीले करीबन तीनसय जति मान्छेहरु एकै छिनमा निली दिएछ। मैले काठमाण्डु फोन गरेर आफू सुरक्षित रहेको जानकारी गराएँ। मानिसहरुको ज्यान लिनका अलावा सुनामीले अरु धेरै बिमाख पनि गर्‍यो। भारतीय नागरिकहरुबीच देखेको भाषाका कारण आपसी संचारको समस्या अर्को अविस्मरणीय कुरो थियो। उनीहरु एउटा प्रान्तकाले अर्को प्रान्तकाहरुसङ्ग कुरै गर्न नसक्दा रहेछन्। हामी बसेको एरियामा एशियाकै दुई ठुला अस्पतालहरु शङ्करा नेत्रालय र अपोलो हस्पिटल रहेकाले सबैजसो प्रान्तका मानिसहरु हामी बसेको लजमा पनि आइपुग्थे। दुई तीन पल्ट त मैले पो दोभाषेको भुमिका खेलिदिनु परेको थियो।
हाम्रो लजमा बसेका सबैसङ्ग राम्रै सम्बन्ध रह्यो। एउटी उडिसाकी महिला हामीसङ्ग खुब गफ गर्न खोज्थिन तर उनी अङ्ग्रेजी र हिन्दी दुबै बुझ्दी रहिनछिन्। इशाराले बुझ्ने जति अभिव्यक्ति मात्रै आदानप्रदान भयो। कतिपयले त हाम्रो पैसा उता जाँदा लगभग आधा हुने हुनाले हामीप्रती सहानुभूति पनि देखाए। त्रिपुरा राज्यको राजधानी अगरतलाबाट आएको एउटा परिवारले निकै राम्रो छाप छोड्यो। उनीहरू निकै सम्पन्न परिवारका रहेछन्। हाम्रै छेउका दुईवटा कोठा उनीहरुले लिएका थिए। दिउँसो दुई बजेतिर मलाई बोलाए। उनीहरू बुढाबुढी र उनका छोरी ज्वाइँ चार जना थिए। छोरी ज्वाइँ दुबै जना हिन्दी र अङ्ग्रेजी पनि जान्दा रहेछन् । बुढा मान्छे टुटेफुटे हिन्दी बोल्दा रहेछन्। म कलेज पढाउँछु भन्ने थाहा पाएपछी उनले मेरो नामै प्रोफेसर साब राखे। बुढालाई गफ गरिदिने मान्छे चाहिने रछ। मलाई गफ गर्न आउने। त्यसपछी त बिहानको टी ब्रेकफास्ट र दिउँसोको खाजा त उतै भयो। तरकारी पनि नपकाउनु पर्ने भयो। उनीहरू माछा पकाउँदा रछन् ठुलो बटुकाभरी ल्याइदिन्थेः हामीलाई पुगी हाल्थ्यो। बुढा मान्छेको र मेरो सङ्गसङ्गै जस्तो अपरेसन भयो। त्यहाँ अस्पतालमा दिएको विशेष खालको tissue paper ले बडो होशियारीपूर्वक आँखा सफा गर्नुपर्ने हुन्थ्यो। छोरीले त्यो काम गरिन्। केहि दिनपछि उनीहरू फर्किए। उनीहरूले छुट्टिन सार्‍है गार्‍हो बनाए। कलकत्ताको एउटा बङ्गाली परिवार आयो। ती बङ्गालीले ‘आपलोग बहादुर नही हेँ।’ भने। नेपालीहरुलाई आर्मी, सिपाही, गेटपाले मात्रै देखेका उनलाई म त्यस्तो नदेखिएर त्यसो भनेका होलान् तर मलाई चाहीँ त्यस भनाइले अलि बिझायो। बहादुर भनेर विश्वभरी चिनिएका मेरा आफ्नै नेपाली दाजुभाइलाई अलि हेयको दृष्टिले हेरेको मलाई त्यती मन परेन। अशिक्षा, गरीबी, सामाजिक रुढीबाद र सरकारहरुका नालायकीपन आदिका कारण मुगलान भासिएका दाजुभाइहरुको नाजुक स्थितिले दुःखी तुल्यायो। दरभान, कुल्ली, पाले आदिका रुपमा नब्बे वर्ष अघि चेन्नाई पुगेको नेपालीको अहिले नाती पनाती पुस्तासम्म आइपुग्दा समेत कुनै सुधार आएको रहेनछ। उनीहरू नेपाली र तामिल दुवै भाषा बोल्दा रहेछन् तर नाती पनाती पुस्ता भने तामिल भाषा नै रुचाउँदा रहेछन्। सबैजसो उनीहरू डेरामा बसेको र आर्थिक अवस्था जर्जर पाइयो। कसै कसैले थोरैतिनो जोगाएर नेपाल पठाउँ रहेछन्। आफ्नो मातृभुमिमा काम नपाएर बिदेश गई फोहोर, खराब, खतरापूर्ण, नीच, घटीया एवम् कठिन काम गर्नुपर्ने दुरावस्थालाई नयाँ नेपालले त केहि गर्ला कि भन्ठानेको त्यो पनि नेतृत्वले गर्न चाहेन। बिचराहरुको नियतिमा रत्तिभर फेरबदल आएन।
चेन्नाई बस्ने क्रममा आसामको एउटा नेपाली परिवारसङ्ग पनि हामीले नेपालीपन साटासाट गरेर बस्यौं। उनीहरुसङ्ग पनि हामीलाई छुट्टिन गार्‍हो भयो। अलिअलि आँखा देख्न थालेपछि म आफू बसेको लज छेउछाउ टहल्ने गर्थें। एकदिन त्यसरी टहलीरहेको बेला एउटी महिलाले दार्जिलिङ्गे लवजमा पछाडिबाट चिच्याइन्,‘आमा’ हाम्रो मान्छे हुनुहँदो रहेछ!’ भाषा र ब्याकरणको दृष्टिले उनको बोली शुद्ध अशुद्ध जेसुकै होस्ः भावनाका दृष्टिले त्यो एकदमै शुद्ध थियो। बिरानो ठाउँमा एउटा नेपालीले अर्को नेपाली भेट्दा एकै छिनलाई भएपनि आफ्नो मान्छे भइने रछ। पाँच मिनेट जति उनी र उनका श्रीमान मेरा आफ्ना मान्छे भएः म उनीहरूको आफ्नो मान्छे भएँ र सदा सदाका लागि हामी छुट्टियौँ।
साम्बर र डोसाका तुलनामा मलाई बिर्यानीले बढी मन परायो। नाम थाहा नपाएको एउटा समुन्द्री फलले पनि मलाई त्यति रुचाएन। रातो बोक्रा भएको केराले भने मलाई खुबै मन परायो। एकाध नेपालीहरुले डेरामै खाना तयार पारेर अर्डर अनुसार ठाउँ ठाउँमा पुर्‍याइदिने गरेको पनि पाइयो। एक पटक मेरिना बीच (समुन्द्री तट) घुम्न गएका बेला बेङ्लोरबाट चेन्नाई आएका एक हुल नेपाली केटाहरुको चर्तीकला देखेर उनीहरूका धनी पैसावाल बाबुआमाप्रति भने दया जागेर आयो। यसै क्रममा मेरो देब्रे आँखाको अपरेसन भयो। आँखा अपरेसनको यो मेरो पाँचौं कीर्तिमान थियो। त्यसको हप्ता दस दिनपछि विद्यानाथजीलाई पालो दिन गएको भाइ भुपेन्द्र आचार्यसङ्ग झापा भद्रपुर फर्किएँ। मेरो चेन्नाईसङ्गको सन्निकटताले यहीँनेर बिट मार्न पाए त हुन्थ्यो नि ! तर कहाँ पाउँनु ?
छ महिना जति झापा बसेर म फेरि चेन्नाइ गएँ। पहिला अपरेसन गरेको मेरो दाहिने आँखामा रेटिनाको पर्दालाई प्रेसर दिन कष्पिभल silken oil राखिएको थियो। त्यो निकाल्न मेरो दाहिने आँखाको पुनः एक पटक अपरेसन गराउनु पर्थ्यो। यो मेरो आँखा अपरेसनको छैटौं कीर्तिमान थियो। यस पटक मलाई भाइ भुपेन्द्र आचार्य, माइजु बालमञ्जरी कोइराला, भाइ भरत कोइराला र भतिजी ईच्छा कोइरालाको साथ थियो। ईच्छाको उपचारको प्रयोजनले उसलाई लगिएको थियो। जाने क्रममा रेल यात्रामा भेटिएका नेपाली बौद्ध भिक्षुहरुले सुर्यमुखी फुलको दाना चखाए। त्यो त औधी मिठो हुने रछ। यस पटकको मेरो आँखा अपरेसन र ईच्छाको परीक्षणपछी हामी पाण्डीचेरी, रामेश्वरम र कन्या कुमारी पुग्यौँ। बेलायतले भारतलाई उपनिवेश बनाएका बेला पाण्डिचेरी फ्रान्सको र दिउ, दिनार र गोवा चाहीँ पोर्चुगलका उपनिवेश रहेछन्। भरत, ईच्छा र माइजु केहि दिन अगाडि तथा भुपेन्द्र र म केहि दिन पछाडि गरेर फर्कियौँ। फर्किदा भुपेन्द्र र म नयाँ दिल्ली भएर आयौं। नयाँ दिल्लीका केहि ठाउँहरु अवलोकन गरियो। (प्राध्यापन पेशामा आबद्ध हुनुभएका  आचार्य ज्यूको चेन्नैई यात्रास्मरणसँग आधारित छ, नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित मिर्मिरेमा प्रकाशित भएको स्मरणलाई पुनः प्रकाशित गरिएको हो ।)