पु.समाचार

बढी/पहिरो पीडित प्रति कांग्रेस चिन्तीत, राहत नदिएकोमा सरकारप्रति आक्रोसित

९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले मुलुकैभरी बाढी, पहिरो, पीडितहरुलाई राहत उपलब्ध नगराएको भन्दै आक्रोस व्यक्त गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै देशभर जारी अविरल वर्षाको कारणले विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुवान तथा प्राकृतिक विपदका घटना प्रति दुःख व्यक्त गर्दै तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षश गरेका छन् ।

खाँडले हालको परिस्थितिमा गम्भीर, संवेदनशिल, नागरिक प्रति उत्तरदायी र जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । गएको तीन दिन भित्र पहिरोमा परी स्याङ्जा र पाल्पा जिल्लामा दर्जन भन्दा बढी व्यक्तिहरुको मृत्यु, केही व्यक्तिहरु घाइते र बेपत्ता भएका छन् ।

त्यस्तै देशका अन्य स्थानमा बाढी, पहिरो, डुवान तथा अन्य प्राकृतिक विपदको कारण मृत्यु, घाइते र बेपत्ताका साथै कैयौं घरपरिवारहरु प्रभावित भएका छन् । पिडितहरु सुरक्षित स्थानको अभावमा खुला आकाश मुनि गुजारा चलाउन बाध्य छन् भने खाद्यान्नको अभावले गर्दा भोक भोकै बसिरहेका छन् ।

राज्यले अधिक भन्दा अधिक स्रोतसाधनको प्रभावकारी ढंगले परिचालन गरी वेपत्ता भएकाहरुको तीब्रताका साथ खोजी कार्य गर्न, घाइतेहरुको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन र मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित परिवारलाई राहत एवं सुरक्षित बासस्थानको व्यवस्थाका साथै उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत माग उनले गरेका छन् ।

साथै नेपाली कांग्रेसले वर्षा अझ केही दिन सक्रिय रहने विज्ञहरुको भनाइ रहेकोले बाढी पहिरो र डुवानको उच्च जोखिम क्षेत्रका दिदीबहिनी तथा दाजुभाईहरुलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अपिल गरेको छ ।

प्रकृतिक विपदका कारण घाइते हुनु भएका प्रति शीघ्र स्वास्थ्यलाभको कामना, विस्थापित घरपरिवार प्रति सहानुभूति प्रकट गर्दै ज्यान गुमाउनु हुने सबैप्रति श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।