समाचार

करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग

सोलुखुम्बु, ९ असोज । करेन्ट लागेर मृत्यु भएका माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई रु २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् ।

जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गरेका छन् ।

कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको प्रदेशसभा सदस्य राजभण्डारीको भनाइ छ । सल्लेरी–च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनलाई व्यवस्थित बनाउन सोलुखुम्बुका सांसदले निर्देशन दिएका छन् ।

बिहीबार कम्पनीका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा जोखिम क्षेत्रको तारलाई तत्काल व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य हेमकुमार राई सुरवीरले निर्देशन दिएका छन् । अव्यवस्थित तारका कारण मानवीय क्षति भएको बताउनुहँदै राईले यस्ता तारलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलमा सासंद हेमकुमार राई सुरवीर, प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत र विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।