खेलकुद

सुपर कपको च्याम्पीयन बन्यो बायर्न म्युनिख

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहिबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि उचालेको हो ।

करिब २० हजार दर्शक उपस्थित रहेको खेलमा बायर्नले उपाधि उचालेको हो । कोरोना महामारीपछि पहिलो पटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमती दिईएको थियो ।

खेलमा अग्रता सेभियाले १३ औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलमा लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाँएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।

बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्टिनेजले बायर्नका लागि विजयी गोल गरेका हुन् ।

बायर्नले गत महिनामात्र च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । जर्मन क्लबले आफ्नो जितको यात्रालाई २३ खेलसम्म पुर्याएको छ । सेभियाले भने गत सिजन युरोपा लिगको उपाधि उचालेको थियो ।