प्रदेश 1

बस्तीको दुवैतिरबाट पहिरो झरेपछि ११ घर जोखिममा

८ असोज, खोटाङ । पहिराका कारण ऐसेलुखर्क गाउँपालिकाका ११ घरपरिवार जोखिममा परेका छन् । यही असोज २ गतेको भारी वर्षाका कारण पहिरो जान थालेपछि वडा नम्बर ४ जलेश्वरीका ११ घर स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।

जलेश्वरीस्थित मावाको बस्तीभन्दा तलबाट शुरु भएको पहिराले स्थानीय बासिन्दाको घर जोखिममा परेपछि उक्त बस्ती नै उठाउनुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो शुरु हुँदा माथिल्लो क्षेत्रको बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरामाथिका दिलबहादुर राई, टेकबहादुर राई र एकल महिला जुनकिरी राईका घर उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताए ।

पहिराले उक्त तीन घरसँगै स्थानीयवासी लालबहादु राई, पर्शुराम राई, पूर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्बीर राई र नैनकुमार राईको घरसमेत जोखिममा पारेको जनाइएको छ । पहिरो नरोकिए उनीहरुको घरमाथि रहेका घरसमेत क्रमशः जोखिममा पर्ने खतरा देखिएको छ ।

पहिराको कारण वि.सं. २०७२ सालको भूकम्पपछि सो स्थानमा पलाएको पानीको मुहानसमेत सुकेको स्थानीय बासिन्दाले बताएका छन् । हाल पाखा लच्किँदै क्रमशः पहिराका रुपमा खस्ने क्रम जारी रहेको बताइएको छ । बस्तीभन्दा माथिको पहिरो गत वर्ष जाली सहितको पर्खाल हालेर नियन्त्रण गर्ने प्रयास गरिए पनि नरोकिएको वडाध्यक्ष राईले बताए । दुवैतिरबाट पहिरो झर्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

यस्तै पहिराका कारण हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक पूर्णरुपमा अवरुद्ध भएको छ । केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण उक्त सडकखण्ड अन्तर्गत वडा नम्बर ७ माक्पाको भदौरेमा पहिरो खस्दा यही असोज २ गतेदेखि यातायात अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए ।

दश स्थानीय तह रहेको जिल्लामा केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो झर्दा ग्रामिण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिराले अवरुद्ध ग्रामिण सडक खुलाउन सम्बन्धित स्थानीय तह र यातायात व्यवसायीले संयुक्तरुपमा पहल गरिरहेका छन् । वर्षाका कारण यस वर्ष देशभर ठूलो मात्रामा जनधनको क्षति भएपनि खोटाङमा अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।