लुम्बिनी

प्रदेश ५ समाचारः बाढी र पहिराले मानवीय एवं तरकारी बालीमा क्षति

८ असोज, रुपन्देही । लगातारको वर्षाका कारण प्रदेशका विभिन्न जिल्ला प्रभावित हुन पुगेका छन् । कतिपय जिल्लामा बाढी र पहिरोले मानवीय क्षति समेत भएको छ । कतिपय जिल्लामा किसानले लगाएका तरकारी बालीलाई असर पु¥याएको छ । बुटवलको तिनाउ नदीमा आएको बाढीले आज बुटवल–१७ रानीगञ्जमा प्रेमकुमारी खाम्चाका चार कोठाको कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
अहिले खाम्चा परिवारले छिमेकीको घरमा आश्रय लिएका छन् । त्यस्तै रानीगञ्ज क्षेत्रका चार घर बाढीको जोखिममा परेपछि प्रहरी र स्थानीयवासीको सहयोगमा घरका सामान सारिएको प्रहरी प्रवक्ता खत्रीले बताए ।
वर्षा कारण तिनाउ नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । नदीको पानीको सतह बढेपछि बुटवल उपमहानगरपालिका तथा अन्य पालिकाका जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका छन् । लगातारको वर्षाका कारण जिल्ला लुम्बिनी, मर्चवारीलगायत विभिन्न पालिका जलमग्न भएका छन् ।

एकको मृत्यु, पाँच बेपत्ता

पाल्पाको रम्भा गाउँपालिका –२ फोक्सिङकोटमा तीन घर पहिरोले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एकाघरका पाँच जना बेपत्ता भएका छन् ।
गएराति वर्षासँगै आएको पहिरोले बगाउँदा सोही स्थानका मोतीसरा गाहाको मृत्यु भएको गाउँपालिकाका प्रवक्ता कृष्ण रेग्मीले जानकारी दिए । पहिरोमा परी हुमबहादुर गाहाको पाँच जनाको परिवार बेपत्ता हुन् । पहिरोले सोही ठाउँका मानबहादुर गाहाको घर बगाएको भएपनि मानवीय क्षति नभएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

वेपत्तामध्ये थप एकको शव फेला

कपिलवस्तुको कोइली खोलाले बगाउँदा बेपत्ता भएकामध्ये थप एकजनाको शव फेला परेको छ । विद्युत ट्रान्सफर्मर चार्ज गरेर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका अर्घाखाँचीका केशव भाट क्षेत्रीको शव फेला परेको सशस्त्र प्रहरी वल पिपराका प्रहरी निरीक्षक अर्जुनप्रसाद ढकालले जानकारी दिए । बिहानैदेखि बेपत्ताहरुको खोेजीका क्रममा वाणगङ्गा –६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको उनले बताए । नदी किनारमा तैरिएर रहेको अवस्थामा शव भेटिएको हो ।
नदीमा बेपत्ता भएकामध्ये वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्ण पौडेलको शव भने अझै भेटिएको छैन । भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना बेपत्ता भएका थिए । ती मध्ये जिप चालक माधवप्रसाद पाण्डेको बुधबार साँझ शव भेटिएको थियो । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोजी जारी राखेका छन् ।

६० वर्षीया वृद्ध मृतावस्थामा फेला

कपिलवस्तुको विजयनगरमा ६० वर्षीया पुरुष मृतावस्थामा फेला परेका छन् । विजयनगर गाउँपालिकाको वडा नं १ गोबरहवाको बिशवा खोलामा डुबेको अवस्थामा स्थानीय राम समुझ थारुको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

वर्षाले फोन सेवा अवरुद्ध

लगातारको वर्षाका कारण स्काइको नेटवर्कले काम नगर्दा रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकास्थित विभिन्न क्षेत्रका नागरिक सञ्चार विहीन बनेका छन् ।स्काई फोनको नेटवर्क नभएपछि त्यहाँका नागरिक पाँच दिनदेखि फोन सेवाबाट वञ्चित हुन पुगेका हुन् । गाउँपालिकाको सेपेधुरी, कोल र मैकोटमा तीन वटा स्काईका टावर छन् तर तीन वटै टावरले काम नगरेपछि आफूहरु निकै नै समस्यामा परेको वडा नं १३ का कुलप्रसाद कुँवरले जानकारी दिए ।
अन्य फोनले काम नगर्ने उक्त ठाउँको लागि भरपर्दो मानिएको स्काईको नेटवर्कले सेवा नदिँदा समस्या भइरहेको उनले बताए। अहिले हुकाम, रन्मामैकोट, जाङ, कोल, नाखा राङसी, तकसेरा, चारगाउँ, खाराबाङलगायत क्षेत्रका नागरिक सञ्चारको पहुँचबाट वञ्चित भएका छन् । गाउँपालिकाको केन्द्रमा मात्रै सञ्चार सेवा रहेको जनाइएको छ ।
लगातारको वर्षाका कारण पहिरो जादा दाङमा अप्टिकल फाइबर राखिएका ४/५ वटा पोल ढलेपछि रुकुम (पूर्व)का सबै ठाउँमा स्काई फोनले केही दिनयता काम गर्न छोडेको नेपाल टेलिकम शाखा कार्यालय रुकुम ९पूर्व०का कार्यालय प्रमुख चन्दन यादवले जानकारी दिए ।

बारीमै कुहियो तरकारी

लगातारको वर्षाले दाङमा कृषकले लगाएको तरकारी बारीमा कुहिन थालेको छ । अहिले बारीमा करेला, भिडी, लौका, काक्रो लगायतका तरकारी सड्न थालेको कृषकले गुनासो गरेका छन् । कुमाख –२ सल्यानका जीवन रावतले १५ कठ्ठा जग्गामा लगाएको तरकारी पानीले नष्ट गरेको छ ।
बारीमा टिप्न तयार भएका भिडी, करेला, सिमी, बोडी ,काक्रा ,गोलभिँडालगायतका तरकारी पानीले कुहिएको उनले बताए । भरखरै लगायका काउली, बन्दालगायतका हिउँदे तरकारी पनि पानि धेरै परेर नोक्सान भएको उनले जानकारी दिए । घोराही उपमहानगरपालिका –१७ कर्जाहीका आशिका चौधरीले पनि डेढ विगाहा जमिनमा लगाएको तरकारी धेरै पानी परेपछि सड्न थालेको गुनासो गरे। एक कठ्ठाको दुई हजार भाडा तिर्ने शर्तमा दश वर्षलाइ जग्गा भाडामा लिएका उनले लगातारको वर्षाले भर्खरै रोपेका तरकारीका साना विरुवा सबै मरेको बताए ।