स्वास्थ्य

२४ घण्टामा नेपालमा १७ कोरोना सङ्क्रमितको मृत्यु, ४५७ जना डिस्चार्ज

८ असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४९७ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार ४४९ जनाको पिसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ४५७ रहेको छ । हालसम्म ५० हजार ४११ जना निको भई घर फर्किएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्या देशभर देखिएको कुल सङ्क्रमितको ५० प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा नेपालमा १७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा आठ हजार ६१४ र होम आइसोलेसनमा नौ हजार ८२३ कोरोना सङ्क्रमित रहेका छन् ।