बाग्मती

कुलेखानी जलाशयमा दुई मिटर पानीको सतह वृद्धि

८ असोज, टिस्टुङ । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिए ।
बलामीका अनुसार जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव २१ मिटर पुगेको छ । अघिल्लो दिन सोही समयमा पानीको सतह एक हजार ५१९ दशमलव ४८ मिटर थियो ।
कुलेखानी जलाशयमा समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत्गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ । आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट क्षमतामा विद्युत् उत्पादन हुन्छ ।