कर्णाली प्रदेश

हुम्लामा हराएको भनिएको ११ नम्बर सीमास्तम्भ भेटिएपछि !

८ असोज, काठमाडौं । हुम्लामा केहिदिन अघि हराएको भनिएको चिनसंग सीमा पर्ने ११ नम्बरको सीमा स्तम्भ पिल्लर भेटिएको छ । गाउँपालिका अध्यक्ष विष्णु लामाका अनुसार प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा पिल्लर भेट्टाएएको हो ।

२०१९ सालमा गाडिएको उक्त पिल्लर रहेको ठाउँ समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ । त्यहाँ पुग्न हिल्साबाट ६ घण्‍टा लाग्छ । गाउँपालिका अध्यक्ष लामाका अनुसार २०६४ सालदेखि हराएको पिल्लर सशस्त्रले खोजिरहे पनि भेटाएको थिएन ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो । शनिवार प्रमुख जिल्ला अधिकारी गिरीको नेतृत्वमा सशस्त्र प्रहरी डीएसपी मोहन विष्ट, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको टोली जिल्ला सदरमुकाम सिमिकोटबाट सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेको थियो । गाउँपालिकाको टोली पनि उनीहरुसँगै गएको थियो ।

गाउँपालिका अध्यक्ष लामा भने चिनियाँ पक्षले बनाएको भवनहरु हेरेर सोमवार फर्किएका थिए । लामाले पिल्लर भेटिए पनि चिनियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने निर्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने बताएका छन् ।

लामालाई चिनियाँ सीमबाट पिल्लर फेला परेको तस्विर हिजो साँझ नै आइसकेको छ । त्यहाँ नेपाली सीमले भने काम गर्दैन । जिल्लाको टोली आज साँझसम्म आइपुग्ने उनको भनाई छ । जिल्लाको टोलीलाई तत्कालीन सीमा प्रशासन कार्यालयका मुखिया छवाङ छवाङ टोक्केल लामाले पिल्लर भएको क्षेत्रबारे गाइड गरेका थिए ।

उनको सूचनाका आधारमा टोलीले पिल्लर फेला पारेको हो । छवाङले २०५१ र ५२ सालमा ११ नम्बर पिल्लरको निरीक्षण गरेका थिए ।