सामाजिक सञ्जाल

नेता गुरुङको आक्रोश: नेपाल, नेपाल सरकारको प्रवक्ता हो कि चीन सरकारको ?

८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीनबीचको सीमामा कुनै समस्या नभएको भनि दिएको अभिव्यक्ति प्रति टिप्पणी गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको लाप्चा क्षेत्र जहाँ चीनले भवन निर्माण गरिरहेको र त्यहाँ ११ नम्बरको सिमा पिलर हराएको भन्ने समाचार आएपनि सरकारका प्रवक्ताको यस्तो भनाई आएको हो ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले सिमा पिलर नै हराएको ठाउँमा सिमा बिबाद छैन र चीनले नेपाली भुमी मिचेको छैन भन्नु गलत भएको बताएका छन् । साथै उनले ज्ञवालीले दिएको उक्त अभिव्यक्तिलाई लिएर नेपाल सरकारको प्रवक्ता हो कि चीन सरकारको ? भन्दै प्रश्न गरेका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थलगत अध्ययनका लागि टोली गएको बताएका थिए ।

उनको ट्वीटः हुम्लाको नाम्खा गापा–६ लिमीको लाप्चा क्षेत्र जहाँ चीनले भवन निर्माण गरिरहेको छ त्यहाँ ११ नम्बरको सिमा पिलर हराएको भन्ने समाचार छ। सिमा पिलर नै हराएको ठाउँमा सिमा बिबाद छैन र चीनले नेपाली भुमी मिचेको छैन भन्नु गलत । नेपाल सरकारको प्रवक्ता हो कि चीन सरकारको ?