लुम्बिनी

एका-बिहानै पाल्पामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता

८ असोज, काठमाडौं । पाल्पामा एकाबिहानै पहिरो जाँदा ३ जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट को बेलौजामा आज बिहानै पहिरो जाँदा ३ वटा घर पुरिएका छन् । उक्त पहिरोमा परि ६ जना हराईरहेको प्रहरीले जानकारी दिएको छ ।

बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए ।

उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।

पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।