पु.समाचार

मुलुकभार भारी वर्षाः तिनाउ र नारायणीमा जलसतहले सतर्कता तह पारः सर्तक रहनुहोला

८ असोज, काठमाडौं । लगातारको वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६।२० बजे ५।५९ मिटर मापन गरेको छ । त्यहाँ ५।६ मिटर पुग्नुलाई खतरा तह मानिन्छ । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचो स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । साथै सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

आज सबै प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनुका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

केहिदिनदेखी काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानमा भारी वर्षा भईरहेको छ । यस्तै मौसमवीदका अनुसार मुलुकैभरी अँझ केहिदिन भारी वर्षाको संभावना रहेको छ ।