राजनीति

गोविन्द केसीका जायज माग इमान्दार वार्ताबाट पुरा गर्न प्रधानमन्त्री ओलीसँग काँग्रेसको अपील

७ असोज, काठमाडौं । नेपाली काँग्रेसले प्राडा डा गोबिन्द के.सी. सँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र उहाँको जीवन जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक अपील गरेको छ ।
काँग्रेसले प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द के.सी.सँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन भन्दै टिप्पणी गरेको छ ।
प्रवक्ता बिबशवप्रकाश शर्माद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, ‘डा. के.सी.को पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ ।’
काँग्रेसले भनेको छ, ‘नेपाली कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, कांग्रेसकै पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा. के.सी.का मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” पनि नेपाली कांग्रेसकै पालामा जारी गरिएको सर्वविदितै छ ।’
काँग्रेसले अपील गर्दै भनेको छ, ‘सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसकेको हुने थियो । डा. के.सी.को यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ’ ।
काँग्रेसले आग्रह गरेको छ, ‘डा. के.सी.को स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ ।’