समाचार

अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री गुरुङ

७ साउन, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले कोभिड–१९ को महामारीबाट अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदाय बढी मारमा परिरहेको उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गरे ।

४१औँ सामाजिक सेवा दिवसको अवसर पारेर अपाङ्गता भएका महिलाको महासङ्घ, नेपालले यहाँ आज आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपाङ्गता महासङ्घ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक सङ्घसंस्थासँग सहकार्यका साथ काम गरिरहेको बताए ।

“सामाजिक सङ्घसंस्था परिचालन गरेर पनि अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री गुरुङले भने, “उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु ।”

उनले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौती हुन नदिने दृढता व्यक्त गरे। त्यसका लागि गृह मन्त्रालयलाई आवश्यकतानुसार ध्यानाकर्षण गराउने काम भइरहेको मन्त्री गुरुङले स्मरण गराए ।

महासङ्घकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिको समस्या समाधानमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गरेका थिए । सोही अवसरमा उनले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिले सहायक सामग्रीको समेत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गरीदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।