गण्डकी प्रदेश

कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित

७ असोज, गलकोट । पहिराले घरमा क्षति पुर्याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो । विकका १४ वर्षीय छोरा वीरेन्द्र र छ वर्षीय नाति प्रवेशसमेतको उक्त पहिरामा पुरिएर मृत्यु भएको थियो । बिककी ५२ वर्षीया श्रीमती डिलसरा घाइते भएकी थिइन् ।

पहिरो आएको दिन आफू घरभन्दा माथि रहेको गोठमा बस्नुभएका कारण बच्न सफल भएको बताउँदै हिराबहादुर विकले घर र परिवारको सदस्य गुमाउँदा अहिले आफू अर्काको कुखुराको खोरमा बस्दै आएको दुखेसो गरे । “रातिको खाना खाएपछि म माथि गोठमा सुत्न गएको थिएँ । तल घरमा श्रीमतीसहित छोराछोरी र नाति बसेका थिए । राति ठूलो पहिरो आएर घरसहित परिवारका दुई जना सदस्यलाई समेत पुरेछ”, उनले भने, “अहिले हामी घर न घाटको भयौं, घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यलाई लिएर अर्काको कुखुराको खोरमा खोरमा आश्रय लिन बाध्य भएको छु ।”

आर्थिक अवस्था नाजुक रहेका ६० वर्षीय हिराबहादुर साना दुई छोरी र श्रीमतीसहित अहिले स्थानीयवासी धर्मराज पोखरेलको कुखुरा खोरमा आश्रय लिएर बसिरहेका छन् । “पोखरेलले घर नबन्दासम्मका लागि कुखुराको खोरमा बस्नू भनेका छन्”, उनले भने, “खुला आकाशमुनि बस्नुभन्दा यही खोरमा बस्न ठीक छ ।” गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था छैन । गाउँघरमा मजदूरी गरेर ६ छोरोछोरीको लालनपालन गर्दै आएका विकको परिवार पहिराले घरनै बगाएपछि ठूलो सङ्कटमा परेको छ ।

विकका तीन छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ भने जेठो छोरा पनि बिहे गरेर ससुराली तिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरामा पुरिएर ज्यान गएको छ भने माहिलो छोरा रोजगारीका लागि घर बाहिर छन् । पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै बगाएपछि अहिले उनलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएको छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

आइतबारदेखि निरन्तर परेको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गलकोट र बडिगाड खण्डमा खसेका पहिरोले यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार गलकोट नगरपालिका–७ आँगाखेत नजिकै र बडिगाड गाउँपालिका–२ राक्से भन्ने स्थानमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । वर्षापछि सडक हिलाम्मे हुँदा बागलुङ नगरपालिकाको बोक्सेमा पनि सवारी साधन वारपार गर्न नसकेको स्थानीयवासीले जनाएको छ ।

लोकमार्ग अवरुद्ध भएपछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै रुकुम पुग्ने सवारीसाधनहरु समस्यामा परेका छन् । एक हजार ७७६ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सबैभन्दा बढीं १४२ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । जसमध्ये ५२ किलोमिटर सडक अझै कालोपत्र हुन सकेको छैन ।

‘स्मृति पार्क’ निर्माण

बागलुङका पूर्वसांसद स्वर्गीय गोविन्द अधिकारीको स्मृतिमा पार्क निर्माण गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ सीर्पालीमा ‘गोविन्द अधिकारी स्मृति पार्क’ निर्माण गरिएको हो ।

सामुदायिक वनले उपलव्ध गराएको झण्डै २० रोपनी जग्गामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालको २० लाख र दुई लाख जनश्रमदान गरी कूल २२ लाखको लागतमा निर्माण गरिएको सो पार्कलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको गोविन्द अधिकारी मेमोरियल फाउण्डेशनका संस्थापक सचिव खिमानन्द कँडेलले बताए ।

जनसेवाका लागि गलकोट जानेक्रममा पार्क निर्माण स्थलमा नै सांसद अधिकारीको हृदयघातका कारण निधन भएको थियो । सोही स्थानमा पार्क निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । पार्कमा चारवटा कटेज, पाँच वटा फलामे कुर्सी, ट्रसको छाप्रो, मन्दिर, पक्की शौचालय, खानेपानीको धारा र ट्याँकी र बगैचा लगायतका पूर्वाधार निर्माण गरिएको निर्माण समितिका सदस्य घनश्याम काउँचाले बताए ।