लुम्बिनी

रुपन्देही तिलोत्तमामा थपिए स्वास्थ्य केन्द्र

७ असोज, रुपन्देही । तिलोत्तमा नगरपालिकामा थप दुई सरकारी स्वास्थ्य संस्था थपिएका छन् । यससँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ । आजबाट वडा नं १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।

वडा नं १ को शिवचोक र वडा नं ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । नगरपालिकाले केही दिनभित्रै वडा नं ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिने जनाएको छ ।
 हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताकासाथ अघि बढेको हो । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवन पनि निर्माण भइरहेका छन् ।

हालसम्म तिलोत्तमाका वडा नं १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । नगरप्रमुख घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको जनाउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरवासीलाई आग्रह गरे ।