समाचार

उत्तरी सिमानाको रक्षाका लागि छिमेकीको सहयोग मागौंः सरिता गिरी

७ असोज, काठमाडौं । पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सिमानाको रक्षाका लागि छिमेकीको सहयोग माग्ने आग्रह गरेकी छन् । आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गिरी सरकार स्वयंले नसक्ने हो भने छिमेकीको सहयोग लिएर भएपनि उत्तरी सिमानाको रक्षा गर्नुपर्ने माग गरेकी हुन् ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा सरकारो धारणा मागेकी उनले विज्ञप्तिमा लेखेकी छन्, ‘यदि नेपाल सरकार आफनो सिमानाको रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग मागी नेपालको उत्तरी सिमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु ।

साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेकोबारे पनि नेपाल सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन समेत उनले माग गरिन् । हुम्ला र गोरखाको रुई गाउँमा चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्दै गिरीले, यसलाई बेवास्ता गर्दै गएमा नेपाल क्षेत्रीय द्वन्द्वमा फस्न सक्ने आशंका समेत व्यक्त गरेकी छन् ।

चीनले भने नेपालसँग कुनै पनि भौगोलिक विवाद नरहेको भन्दै हुम्लामा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । नेतृ गिरीले भारतसँग देखिएको सीमा विवाद ऐतिहासिक तथ्य र प्रमाणको आधारमा वार्तामार्फत् समाधान गर्न पनि माग गरेकी छन् ।

यसअघि समाजवादी पार्टीकी पूर्व सांसद गिरीले यसअघि लिम्पियाधुरा–कालापानीसमेतका भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेकोमा विरोध जनाएकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् । त्यस्पस्चात उनलाई पार्टीबाट निस्कासन गर्नुका साथै सांसद पद गुमेको थियो ।