खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोजको अन्तिममा हुने

चितवन । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोजको अन्तिममा हुने भएको छ । चितवनमा मंगलबार बसेको बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको हो ।

तर, साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ । यस अघि क्यानले भदौ १५ भित्र साधारण सभा गर्ने जनाएको थियो । तर, कोरोना भाईरसको महामारीको कारण क्यानले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो ।

यस्तै क्यानले महिला र पुरुष खेलाडीको वार्षिक जीवन बिमा गर्ने निर्णय गरेको छ । जसका लागि कोषाध्यक्ष रोशन सिंहको सयोजकत्वमा तीन सदस्सीय समिति बनाईएको छ । समितिमा सदस्यहरु दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन ।

खेलाडीको क्लोज क्याम्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमतिको लागि पहल गर्ने र मंसिर भित्र महिला र पुरुषको प्रधानमन्त्री कप क्रिकेट गर्नका लागि राखेपसँग समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले पूर्व कप्तान पारस खड्काले पाउने भनिएको टोयोटा गाडीका लागि पहल गर्ने समेत जनाएको छ । २०१४ को टी-ट्वान्टी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोयोटाले गाडी दिने बताएको थियो । राष्ट्रिय टिमका क्रिकेट प्रशिक्षक जगत टमटाले पाउनु पर्ने २०१७-१८ को पारिश्रमिक ’ए’ श्रेणी अनुसार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोग गर्ने निर्णय समेत गरेको छ ।