खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सद्वारा विजयी सुरुवात

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले सुखद सुरुवात गरेको हो ।

सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।

चेन्नईका फाप डु प्लेसिसीले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए । मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । राजस्थानको फराकिलो स्कोरमा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले । सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले । स्मिथले ४७ बलमा ६९ रन बनाए ।

यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे । चेन्नईका लागि साम करनले ३ विकेट लिए । यस्तै दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए । जितसँगै राजस्थानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । चेन्नईले भने पहिलो हार व्यहोरेको छ । पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो ।