अन्तर्राष्ट्रिय

मालीका सैनिक प्रमुख उपराष्ट्र हुन तयार, विपक्षीको विरोध जारी

६ असोज, बामाको । अफ्रिकी मुलुक मालीका सेना प्रमुख कर्णेल आसिमी गोइटाले मुलुकमा गठन हुन संक्रमणकालीन सरकारमा उपराष्ट्रपति हुन आफू तयार रहेको बताएका छन् ।

तत्कालीन राष्ट्रपति विरुद्ध एक महिना पहिले सैनिक बलमा सत्ता विद्रोहको नेतृत्व गर्नु भएका कर्णेल गोइटाको घोषणासँगै मालीमा लोकतन्त्र पुनस्र्थापित हुने अपेक्षा गरिएको छ । तर गोइटाको उक्त घोषणालाई अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गर्ने सम्भावना रहेको छ । गोइटाले पूर्व रक्षा मन्त्री एवं अवकाशप्राप्त जनरल बाह एन–डालाई राष्ट्रपतिका रुपमा प्रस्ताव गरिएको बताउनु भएको छ । नयाँ सरकारको घोषणा यही सेप्टेम्बर २५ मा हुनेछ ।

दुबै नाम सेनाले बनाएको एक छनौट समितिले प्रस्ताव गरेको हो । यस समितिमा सेनाका अधिकारीहरु, केही राजनीतिक दलका नेताहरु, नागरिक तथा धार्मिक समूहका व्यक्तिहरु रहनु भएको छ । इकोवास नामको १५ सदस्यीय पश्चिम अफ्रिकी देशहरुको समूहले कुनै पनि प्रकारको संक्रमणकालीन सरकारको राष्ट्रपति र प्रधानमन्त्रीमा गैरसैनिक व्यक्तिको नेतृत्व हुनुपर्ने अडान राखेको छ । इकोवासले गोइटालाई उपराष्ट्रपतिका रुपमा स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट भइसकेको छैन ।

इकोवास समूहका सदस्य राष्ट्रहरुले मालीसँगको अन्तर्राष्ट्रिय सीमा बन्द गरेका छन् भने वित्तीय सहायता पनि रोकेका छन् । सोमबारको घोषणापछि इकोवासको थप कदमका बारेमा स्पष्ट भएको छैन । मालीमा १८ महिनाभित्र नयाँ निर्वाचन गर्ने घोषणाप्रति इकोवासले केही लचकता देखाएको छ तर राष्ट्रपति र प्रधानमन्त्रीमा गैरसैनिक व्यक्ति भएको अवस्थामा मात्र माली विरुद्धका प्रतिबन्धहरु फुकुवा गरिने जनाएको छ ।

मालीका राजनीतिक दलहरुले अगस्टमा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटा विरुद्ध प्रदर्शनहरु गरेका थिए । तर पछिल्लो समयमा विपक्षी र सैनिक नेतृत्वबीचको मतान्तर अझ गहिरिएको छ ।