बाग्मती

मनहरी सिम्पानीमा कोरोना अस्पताल

६ असोज, मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ सिम्पानीमा अवस्थित आइसोलेशन कक्षलाई नै २४ श्ययाकोे कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अगाडि आइसोलेशनको व्यवस्थापनको जिम्मा स्थानीय निकायबाट हुने जनाएको थियो । मन्त्रालयको १० लाख अनुदानमा अस्पतालको स्थापना गरिएको र वाग्मती प्रदेश सरकारबाट समेत १० लाख विनियोजन भइसकेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए ।

अब कोरोना सङ्क्रमित बिरामीलाई थप उपचारको लागि हेटौँडा, भरतपुर, काठमाडौँ लगायतका अस्पतालमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । अस्पतालमा एक चिकित्सक नियुक्ति र मिनि आइसियु सञ्चालनको लागि उपकरण खरिदको काम भइरहेको अस्पतालका संयोजक ज्योतिराज लुइँटेलले जानकारी दिए । मन्त्रालयले ५ श्ययाको अस्पताल स्थापना गर्न निर्देश गरेपनि गाउँपालिकाले २४ श्ययाको अस्पताल स्थापना छ । सो आइसोलेशनमा स्वयंसेवकको रुपमा चिकित्सक अनिल उप्रेतीले कोरोना सङ्क्रमित बिरामीलाई उपचार तथा परामर्श सेवा दिइरहेको छ ।

मनहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि वडा नं ७ रमन्टारमा पनि आइसोलेशनको स्थापना गरिएको छ । यसअघि वडा नं ८ सिम्पानीमा मात्रै आइसोलेशन रहेको थियो ।सिम्पानीस्थित आइशोलेशनमा अहिले ५ जना महिला र १३ जना पुरुष उपचाररत रहेका छन् । त्यसैगरी रमन्टारस्थित आइसोलेशनमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।