खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरद्वारा विजयी सुरुवात

६ असोज, एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए । कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।

हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २र२ विकेट लिए । डेल स्टेनको नाममा एक विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलाडी पडीक्कलले बैंगलोरका लागि ५६ रनको उत्कृष्ट इनिङ्स खेले । पहिलो विकेटका लागि २० वर्षीय पडीक्कलले आरोन फिन्चसँग ९० रनको साझेदारी गरे । फिन्च २९ रनमा आउट भए ।

यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए । हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १र१ विकेट लिए ।

जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । हैदराबादले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।