कृषि

जडीबुटी खेतीमा प्रोत्साहन गर्न निः शुल्क बिरुवा

५ असोज, इलाम । किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले विरुवा वितरण गर्न लागेको हो ।

केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार विरुवा रहेका छन् । ती मध्येबाट एक लाख विरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । “हामीले कम्तिमा पनि एक लाख विरुवा वितरण गर्छौ”केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले भन्नुभयो,“हामीले वीउ दल चाहिँ करीव एक लाख पाँच हजार विरुवा गरेका छौं । कीरा लागेमा वा रोग परेर पाँच हजार जति विरुवा मरेपनि एक लाख विरुवा चाहिँ बाड्ने लक्ष्यमा छौं ।” केन्द्रले यही असोज मसान्तसम्ममा कृषकलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । किसानका लागि वितरण गर्न केन्द्रसँग लौठ सल्ला ३० हजार, सिल टिमुर ३० हजार, तेजपत्ता १० हजार, वोक टिमुर ५ हजार र किवी पाँच हजार विरुवा रहेका छन् ।

केन्द्रको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी वनस्पति उद्यानबाट विरुवा वितरण गरिने छ । “हामीले किसान आह्वान गर्छौ । किसानको खेतबारीको स्थलगत सर्वेक्षण गरेपछि विरुवा दिन्छौ”, उनले भने,“ सर्वेक्षण गर्दा उपयुक्त हावापानी भएको वारीमा विरुवा वितरण गर्छौ ।” किसानलाई औषधिजन्य वनस्पतिको खेतीको जानकारी र प्रोत्साहनका लागि केन्द्रले विरुवा वितरण थालेको हो । यस बर्षको गत भदौ सम्ममा मात्रै ४२ हजार विरुवा केन्द्रले स्थानीय तहमार्फत वितरण गरेको छ । “बर्षेनी विरुवा वितरण बढिरहेको छ ।”अधिकृत पाण्डेले भने,“अहिले आह्रवान गरेको सूचना आउँदो बर्ष वितरण गर्नका लागि हो”, पाण्डेले भने,“हामीले किसानलाई विरुवा दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्छ । त्यही भएर एक बर्षअघि नै सूचना निकालेका हौं ।” केन्द्रका अनुसार जिल्लाका उच्च पहाडी क्षेत्रमा वहुमूल्य वनस्पति लगाउन अझै किसानमा सचेतनाका कार्यक्रम नभएकाले प्रोत्साहन स्वरुप कार्यक्रम ल्याइएको हो । यस्ता वनस्पतिको बजार राम्रो भएपनि जिल्लामा कम मात्र खेती गरिँदै छ ।