प्रदेश 1

चन्द्रगढी विमानस्थलबाट उडान शुरु

५ असोज, काठमाडौं । पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् ।
विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिए।
कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लागू गरेको बन्दाबन्दीयता मुलुकभरका विमानस्थल बन्द छन् । चन्द्रगढी विमानस्थलबाट चार्टर उडानसमेत भएको थिएन । यात्रु सुरक्षाका लागि विमानस्थलमा सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर गर्ने र लामबद्ध हुने व्यवस्था मिलाइएको हुँदा खासै भीडभाड नभएको विमानस्थल प्रमुख पौडेलले बताए ।
छ महिनापछि विमानस्थलबाट उडान सञ्चालन हुँदा यात्रुमा खुशी छाएको अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालले बताए।