पु.समाचार

बारा पर्सा र रौतहटमा गरी ४ कोरोना संक्रमितले गुमाए ज्यान

५ असोज, वीरगञ्ज । प्रदेश दुईको बारा, पर्सा र रौतहटमा गरी ४ जना कोरोना संक्रमतले ज्यान गुमाएका छन् । शनिबार र आईतबार गरी वीरगञ्जको विभिन्न स्थानमा गरी ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेका पर्साका २ जना र बारा र रौतहटका १/१ जना रहेका छन् । तिनजनाको आईतबार र १ जनाको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका छन् । ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना भएका थिए । नारायणीमै उपचाररत वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी असोज २ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले असोज १ गते अस्पताल ल्याएका थिए ।

सोही अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले भदौ ३१ मा उनलाई अस्पताल भर्ना गरेका थिए । कोरोनाको हटस्पट वीरगञ्जमा कोरोना संक्रमित थपिनुका साथै मृतकको संख्या बढिरहेको छ ।