पर्यटन/संस्कृति

झण्डै ६ महिनादेखि ठप्प रहेको आन्तरिक उडान आजबाट सुरु हुँदै

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दी तथा निषेधाज्ञाले झन्डै ६ महीनादेखि ठप्प रहेको मुलुकको आन्तरिक उडान सोमवार (आज) बाट शरूु हुँदै छ । सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न पाइने सरकारको निर्णयअनुरूप नै निजी वायुसेवा कम्पनीहरूले नियमित उडानको सम्पूर्ण तयारी पूरा गरेको बताएका छन् ।

असोज ५ गतेदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रवारदेखि नै बुकिङ खुला गरेका थिए । आइतवारसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको यी विमान कम्पनीहरूले बताएका छन् । श्री एयरलाइन्सले भने १र२ दिनपछि मात्रै बुकिङ खुला गर्ने कम्पनीका प्रबन्धक अनिल मानन्धरले बताए ।

बुद्ध एअरका अनुसार आइतवार साँझसम्म ७० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरले सोमवारका लागि १७ ओटा उडान पाएको र सबै सेक्टरमा ७० प्रतिशत प्यासेन्जर अक्युपेन्सी रहेको यसका प्रबन्धक रूपेश श्रेष्ठले बताए । त्यस्तै यती एयरलाइन्सका प्रक्ता सुदर्शन बर्ताैलाका अनुसार कम्पनीले उडानको सम्पूर्ण तयारी पूरा गरिसकेको तथा आइतवार साँझसम्म ७० प्रतिशतसम्म बुकिङ भइसकेको छ ।

शुरूमा यतिले दैनिक ११ उडान गर्ने बर्ताैलाले बताए । नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले मुलुकका देशका विभिन्न १० ओटा गनतव्यमा आन्तरिक तर्फको उडान गर्ने गरी तालिका सार्वजनिक गरेका हो ।

सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पु¥याइ सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दूरी, विमान चढ्नुअगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलसहित यहाँबाट उडान हुने गन्तव्य विमानस्थलहरूमा पनि सोहीअनुसार सुरक्षा मापदण्ड लागू गरिएको प्राधिकरणको भनाइ छ । वायुसेवा कम्पनीहरूले पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाई भाडा भने नबढ्ने भएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडान हुने वायुसेवा सञ्चालन संघले जानकारी दिएको छ । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए ।

यसअघिको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडानमा ५० प्रतिशत यात्रु राख्ने तर भाडा भने बढि लिन सक्ने निर्णय गरेको थियो । तर, व्यवसायीहरूले भने सरकारको उक्त निर्णय अवैज्ञानिक भएको र ५० प्रतिशत यात्रु राखेर जहाज सञ्चालन गर्न नसकिने अडान लिएका थिए ।

व्यवसायीहरूको अडान पछि शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेको हो । त्यसपछि वायुसेवा कम्पनीहरूले असोज ५ गतेदेखि उडान सञ्चालन गर्न सहमत भएका थिए ।

संघका अनुसार यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान संख्या बढाइनेछ । प्राधिकरणले शुरूको १ साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । अवस्था हेरेर उडान संख्या वृद्धि गरिने कम्पनीहरूले जानकारी दिएका छन् ।

महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रतिबन्ध थियो । यो बीचमा आन्तरिकतर्फ उद्धार उडान, मेडिकल कार्गो जस्ता उडान मात्रै भएका थिए । अन्तरराष्ट्रिय उडान भने केही शर्तसहित भदौ १६ देखि सञ्चालनमा आएको थियो । सरकारले अन्तरराष्ट्रिय उडानको हकमा असोज १५ पछि आवश्यकताअनुसार थप गर्ने निर्णय गरेको छ ।