गण्डकी प्रदेश

लमजुङमा पूर्वाधार विकास कार्यालयबाटै यातायातका सेवा

४ असोज, लमजुङ । पहाडी जिल्ला लमजुङवासीले अब यातायातसम्बन्धी काम जिल्लाबाटै पाउने भएका छन् । गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटलगायत कार्य अब जिल्लाको पूर्वाधार विकास कार्यालयबाटै हुने भएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नै कार्यालयको एक्सन रुमबाट लमजुङका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गरे ।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले स्कुटरको ब्लुबुक नवीकरण गर्न गएको पहिलो सेवाग्राही बेसीसहर–८ का यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । अब जिल्लाका पूर्वाधार विकास कार्यालयबाट ब्लुबुक नवीकरण, सवारी साधन कर सङ्कलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिटसम्बन्धी सेवा उपलब्ध हुने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए । लमजुङमा अब सवारी चालक अनुमति पत्र र नयाँ गाडीको दर्ता बाहेक सबै काम हुने प्रमुख गिरीको भनाइ छ ।

यसअघि पोखराको कास्की, बागलुङ, तनहुँको डुम्रेमा मात्रै यातायात व्यवस्थाका सेवा उपलब्ध थिए । गण्डकी प्रदेश सरकारले स्याङ्जा, लमजुङ र गोरखामा यातायात व्यवस्था सम्बन्धी सेवा थप गरेको हो । यो थप सेवाले यातायात व्यवसायीलाई थप सहज र उत्साहीत बनाएको छ । जिल्लावासीले यातयात सेवाका लागि पोखरा धाउनुपर्ने बाध्यता हटेपछि उत्साहित भएका छन् ।