कृषि

आधा कम मूल्य कायम राख्दा पनि बिक्री भएन मकै

४ असोज, दाङ । दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका थिए । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उनले बताए । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ । गत वर्ष घरबाटै मकै बिक्री गर्नुभएका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताए । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उनको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरी बताउछन् ।
सोही ठाउँका रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्म तयार भएको मकै रु ३५ केजीमा बिक्री भएपनि पछि उत्पादन भएको मकै बिक्री भएको छैन । मकैको भाउ अहिले बजारमा प्रतिकेजी रु १८ मात्रै छ । “बजार भाउमा नै बिक्री गरौँ भन्दा पनि ब्यापारीले लिन मान्दैनन्”, चौधरीले भने ।
लमही नगरपालिका­८ सतबरियाका देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै बिक्री गरेको बताए । गत वर्ष रु ३५ प्रतिकेजीको दरले मकै बिक्री गरेका चौधरीले यस वर्ष रु १८ प्रति केजीका दरले बिक्री गरेको बताए। बन्दाबन्दीले गर्दा दाना उत्पादन कम भएको कारण मकैको मूल्य घटेको ब्यापारीहरु बताउँछन् । उत्पादित मकै जिल्ला बाहिर नगएको र पशुको आहारा घटेको कारण किसानले मूल्य नपाएको पशुविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले बताए ।