बाग्मती

जावलाखेलमा चिल्ड्रेन, मिडल, पिस र गणेशमान उद्यान बन्ने

३ असोज, ललितपुर । जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक उद्यान बन्ने भएका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज यी चार उद्यानको शिलान्यास गर्दै नगरस्तरीय गौरवशाली आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको बताए । उनले भने, “चिल्ड्रेन, मिडल, पिस र गणेशमान नाम दिइएको यी चार उद्यान कूल ७८ लाख ४८ हजार लागतमा २६ आना तीन पैसा क्षेत्रफलमा बन्नेछन् ।” महानगरपालिकाले पानीजन्य र हरियाली परियोजनालाई प्राथमिकतामा राखेर सो कामलाई अघि बढाएको महर्जनको भनाइ थियो ।

मूलुकमा हाल दिनानुदिन सहरीकरण बढ्दै गएसँगै अब पनि खुल्ला स्थानको संरक्षण नगरे पछिल्लो पुस्तालाई अन्याय हुने महर्जनको भनाइ थियो । महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर रामरतन शाहले ती उद्यान बालका साथै अपाङ्गमैत्रीसमेत बन्ने बताए । उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार बखतीले उद्यान निर्माण र संरक्षणमा स्थानीय जनताको अतुल्नीय भूमिका रहेन औल्याए ।

यसैगरी महानगरपालिकाले लगनखेल अनि कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै उद्यान निर्माणको तयारी गरिरहेको र बाँकी यहाँका कुनै पनि खुल्ला स्थानमा भवन बन्न नदिने नीति पनि लिएको कार्यक्रममा बताइयो । महानगरपालिकाका विभिन्न वडामा निर्माण हुन लागेका यी उद्यानले यहाँको सौन्दर्य बढाउनुका साथै खुल्ला स्थानको पनि संरक्षण गर्ने भएका छन । कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख रुद्ध गौतम र सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनको उपस्थिती थियो ।