प्रदेश 1

जनताले लेखेको संविधानः प्रदेश प्रमुख अधिकारी

३ असोज, विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान दिवसको उपलक्ष्यमा आज यहँ एक शुभकामना सन्देश दिएका छन् । उनले सन्देशमा ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एक, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै जनताको माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो” उल्लेख गरेका छन् ।

“राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गरेको ऐतिहासिक जनआन्देलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै बेपत्ता र पीडित नागरिकलाई उच्च सम्मान व्यक्त गर्दछु”, सन्देशमा उल्लेख गरेका छन्, “निरङ्कुश जहानियाँ शासन, तानाशाही निर्दलीय एकतान्त्रिक शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान् शहीदहरुप्रति श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्दछु ।”

देशमा राजनीतिक स्थिरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययिता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गरी राष्ट्रको दिगो विकास गर्न सकेमा संविधान दिवसको मर्म र भावना सार्थक हुने विश्वास व्यक्त गर्दै उनले ठूलो त्याग, बलिदान र सङ्घर्षले प्राप्त गरिएको संविधानको संरक्षण र सङ्घीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई समर्पित भएर लागौँ भन्ने आग्रह सन्देशमा गरेका छन् ।