लुम्बिनी

संविधान सहमतिको दस्तावेजको रुपमा स्थापित भएको छः मुख्यमन्त्री पोखरेल

बुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यावहारिक कार्यान्वयनको अहिले महत्वपूर्ण चरणमा रहेको बताउँदै यो शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी सबै अघि बढिरहेको बताएका छन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा सङ्कल्प हुनुपर्छ, संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको र यसले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग तथा क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ”, सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री पोखरेलले राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा सम्भव हुने भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न संविधान दिवसले प्रेरणा दिनेनै छ भन्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।