पु.समाचार

सप्तरीमा आज एकैदिन ५३ नयाँ कोरोना संक्रमित थपिएः ३७ जना प्रहरी पनि

२ असोज, राजविराज । ३७ प्रहरी सहित सप्तरीमा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा थप भएका ५३ जना संक्रमितको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष खडकाका अनुसार जिल्ला प्रहरी कार्यालयका एसपी र डिएसपीमा भदौ २५ गते संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालयमा ८५ जनाको स्वाब परीक्षण गरिएकोमा २ इन्स्पेक्टर, ३ सई ४ असई, ४ हवल्ल्दार र अन्य प्रहरी जवानहरु गरी ३७ जना नयाँ संक्रमित थपिएका हुन् । सोही प्रहरी कार्यालयमा सरसफाइ गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष समेत संक्रमित भएको इन्स्पेक्टर खडकाले बताएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाका अनुसार अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर, राजविराज नगरपालिका–३ का ४५ वर्षीय अभिवक्ता, राजविराजस्थित भिम दल गणका ३७ वर्षीय नेपाली सेनामा समेत संक्रमण देखिएको छ । अघिल्लो दिन मात्र सप्तरीमा ५० जना संक्रमित पुष्टि भएको थियो ।। संक्रमित प्रहरीमध्ये २ प्रहरी महिला छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणअनुसार प्रहरी, डाक्टर, अभिवक्ता, सेनासहित राजविराज नगरपालिका– ११ का १५, १८ र ३५ वर्षीय तथा तिरहुत गाउँपालिका–२ का २९ वर्षीय पुरुष पनि संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार कञ्चनरुप नगरपालिका–६ की ५ र २५ वर्षीया, वडा नम्बर– ८ की ३३ वर्षीया र वडा नम्बर– ९ की २७ र ४१ वर्षीया महिला तथा विष्णुपुर गाउँपालिकाका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको कञ्चनरुपका सिनियर अहेव डम्बरप्रसाद गुप्ताले जानकारी दिएका छन् ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा बिहीबार नै गरिएको पीसीआर परीक्षणमा महादेवा गाउँपालिकाका ११ वर्षीय र सुरुङ्गा नगरपालिका– २ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यो समेत सप्तरीमा संक्रमितको सङ्ख्या १ हजार १४३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र बृद्धि भएको छ । भने मृतकको संख्या पनि बढिरहेको छ ।