राजनीति

चुनाव हारेका,भ्रष्टाचारकोे गम्भीर आरोप लागेका गौतमलाई राष्ट्रिय सभामा लैजानु दुःखदः साझा पार्टी

२ असोज, काठमाडौं । साझा पार्टीले चुनाव हारेका, भ्रष्टाचारकोे गम्भीर आरोप लागेका, कम्युनिष्टको नाममा रानीति गरेर आलिसान महल बनाएका नेकपाका नेता बामदेब गौतमलाई राष्ट्रिय सभामा लैजानु दुःखद भएको बताएको छ ।

साझाले प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टी गम्भीर आपत्ति व्यक्त गरेको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको बताएका छन् ।

गौतमको नियुक्ति आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास, लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको बताउँदै यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको टिप्पणी गरेका छन् ।

‍संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय भएको साझाको ठहर छ । संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेको छ ।

नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याईए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ पनि सझाले सरकारलाई समयमै सचेत हुन आगह गरेको छ ।