पु.समाचार

आजका लागि बोलाईएको नेकपाको सचिवालय बैठक आईतबारलाई सर्यो

२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सरेको छ । आज (शुक्रबार) लागि बोलाईएको बैठक बस्दै नबसी आइतबारसम्म सरेको हो ।

बिहीबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय गरेको थियो ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो ।

सचिवालय बैठकले समसामयिक र पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने पौडेलले जानकारी दिए। पेरिसडाँडामा हुने बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमासमेत छलफल हुनेछ ।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरेका छन ।