कर्णाली प्रदेश

असोजदेखि विद्यालय खुलाउने तयारी

३१ भदौ, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ ।
आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा एक देखि पाँच सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए। उनले भने, “ लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।”
नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख सेजुवालले बताए ।
विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए । उनले भने, “आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ । सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो ।” आउँदो असोज ४ गतेदेखि आ–आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो ।