उर्जा

प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

३० भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन्। प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुन् ।
वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।