कर्णाली प्रदेश

काठेपुल भाँच्चियो, सवारी साधन आवतजावत बन्द

डोल्पा २९ भदौ । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो ।

बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिएका छन् ।

पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी सडकमा दुई गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।