विचार/ब्लग

अध्ययन, विदेशयात्रा र अनुभव​

अम्बिका रुपाखेती आचार्य/२०७६ को अन्तिमतिर चीनको वुहान राज्यमा जन्मेको कोरोना कोभिड-१९ वि.स २०७७ मा विश्वव्यापि भयो। इ.स २​०२०, कोभिड-१९ को वर्ष बन्यो। हामी सामाजिक प्राणीलाई बाँच्नको लागि सामाजिक दुरी राख्न बाध्य बनायो। जीवनलाई सामान्यतया एक्लो बनायो। परिवार र आफन्तसँग दुरी कामय गरायो, जुन विषय विश्वव्यापि बन्यो। तर कैयौं परिवार यस्ता छन जसले कैयौं वर्षदेखि आफ्नो परिवारसँग सबै किसिमका दुरी कायम गरी बसेका छ्न्। चाहे ती परिवारका युवा सदस्यहरु कामको खोजीमा विदेशीएका हुन्, चाहे ती उच्च शिक्षा अध्ययनको लागि विदेशीएका हुन या विकसित मुलुकले खोलेको चिठ्ठा (डि.भी) परेर ग​एका हुन्। जे जस्तो कारणले ग​एका भए पनि उमेर पुगेका दीर्घ रोगी बाबुआमालाई अहिलेको परिस्थितिले पहिलेभन्दा नितान्त एक्लो भएको अनुभुति भ​एको छ​। स्वदेशमा बसेका बाबु, आमा, हजुरबुबा, हजुरआमा लगायत परिवारका अन्य सदस्यहरुले ती परदेशीएका परिवारका सदस्यलाई प्रत्यक्ष नदेखेको, सँगै नबसेको बर्षौं बितिसकेको छ​। यसरी यहाँ रहेका परिवारका सदस्यहरुले एक्लो जीवन बिताइ रहेका छ्न। सुखमा त कुरै छोडौ आफन्तजनको मृत्युको दु:खद क्षणमा पनि विभिन्न अफ्ठेरा परिस्थितीले गर्दा आउन पाउँदैनन्। आफुलाई जन्माउने, हुर्काउने, बढाउने, पढाउने र आफु यहाँ एक्लो बसेर आफ्नो जीवनको अभिन्न अँग जस्ता ती छोरा छोरीलाई विदेश पठाउन आर्थिक, मानसिक र शारिरीक योगदान गर्ने बाबुआमाको अन्तिम बिदाइ गर्ने घाटसम्म काँध र साथ दिन इच्छा र चाहना हुँदाहुँदै पनि विभिन्न परिस्थितीले आउन नपाएको कैयौं छोराछोरीको अवस्था देखिएको छ​।

आज सामाजिक दुरी कायम गर्नुपर्ने कारणले मात्र हैन, यो भन्दा अगाडी जब छोरा छोरी विदेश हिडे त्यसपछि देखि नै ती बाबु आमाले एक्लो जीवन बिताउँदै नआएका भने होइनन्। जीवनको उत्तरार्धमा सकि-नसकि सकृय जीवन बिताई रहेका छ्न्। समाजमा आइपरेका धार्मिक कार्य होस या सांस्क्रितिक कार्य होस या सामाजिक कार्य होस (जन्ती जानु देखि मलामी जानु सम्म) सबै कार्य ती दुई बुढाबुढीको जिम्मामा छ।

घरमा अलि मिठोचोखो पाक्दा होस या धार्मिक कार्य गर्दा होस या हरेक वर्ष आउने हाम्रा साना तिना चाडपर्व देखि दशैं, तिहार, होली, ल्होसारजस्ता अनगिन्ति पर्व आउँदा होस घर देशका परिवारले (आमाबुवाले) परदेशीएका परिवारलाई सम्झेर आँखाका परेली भिजा​एका छ्न्। कति बाबुआमाले त फोटोमा टिका-जमरा लगाइदिएर आफ्ना केटाकेटीलाई टिका लगाइदिएको अनुभूति गर्दछ्न्। छोराछोरी (दाजुबहिनी) परदेशमा नै भ​एपनि कोही कता कोही कता हुनाले कैयौं दिदीबहिनीको हातले दजुभाइको निधारमा सप्तरंगि टिका र गलामा मखमली मालाले सजाउन नपाएको दशकौं भैसकेको छ​। आ-आफन्त परिवार त परै जाओस बाबुआमाले नै आफ्ना छोरीको कन्यादान गर्न पाएका छैनन भने कैयौं बाबुआमाले आफ्नो छोराको विवाहमा उपस्थिती भई गृहलक्ष्मी स्वरुप बुहारी भित्र्याउन पाएका छैनन्। विदेशबाट आएका केटाकेटिसँग स्वदेशमा भ​एका केटा वा केटीको विवाह पश्चात जान नपाएर कैयौं नवदुलही या नवदुलाहा स्वदेशमा वर्षौं अलपत्र परेको कैयौं जोडी भेटिन्छन्। एक नव दम्पतीलाई यो भन्दा ठुलो पिडा के हुन सक्छ​? आफ्ना छोरी-बुहारी गर्भवति हुँदा मिठो मसिनो बनाएर खुवाउने कुरामा होस वा प्रसव वेदनामा छट्पटिँदा होस शिर मुसारेर तातो पानी सम्म पनि तताएर दिन नपाउँदा कैयौं आमा र सासुको मन कुँढिएको र पिलिएको छ​। नाति नातिना जन्मिएको खबर सुनेर खुशीले भुइँमा नटेक्ने ती हजुरबुबा-हजुरआमाहरु ती बालकलाई काखमा लिएर शिरमा हात राखी आशिर्वाद दिन नपाउँदा छोरा-बुहारी, छोरी-ज्वाइँसँग खुशी साट्न नपाउँदा दुःखी छ्न्। हजुरबुबा-हजुरआमा भनेको आउँदो पिढीको लागी एक जिउँदो इतिहास हो, अनुभव हो (जुन पढेर पाइँदैन​)। संस्कार, संस्कृति, दन्त्य कथा, नैतिक कथाको एक भण्डार हो जसबाट दुबै वन्चित छ्न्। आफ्ना भविष्यका धरोहरका बाल लिला नजिकबाट हेर्न र धित मरुन्जेल तीनका तोतेबोली सुन्न रहर भ​एको छ​। भौगोलिक दुरी, सामाजिक जीवन शैली, भाषागत समस्या आदि जस्ता कारणाले गर्दा विस्तारै उनीहरु हामीबाट टाढा हुने अवस्था नाआउला भन्न सकिन्न। सामाजिक संजालमा देखिएकै भरमा कति चिन्ने, जान्ने र बुझ्ने होलान त यी बालकहरु? पहिला-पहिला हुनेखानेका छोरा-छोरी र छात्रवृत्ति प्राप्त विद्दार्थीहरू विकसित मुलुकमा अध्ययनको लागि जाने गरेको पाइन्छ तर पछि आज भन्दा २०-२५ वर्ष पहिले देखि यो हाम्रो समाजका अध्ययनशील, होनहार युवाहरु उच्च शिक्षा अध्ययनको लागि जाने क्रम बढेको देखिन्छ​। पहिले यो क्रम अलि पातलो थियो तर पछि द्वन्दको बेलामा ह्वात्तै बढेर गयो र आज सम्म निरन्तर बढ्दो क्रममा देखिन्छ​। आज समाजको प्रतिस्पर्धात्मक होडबाजिले गर्दा हुने-खाने हुन् वा हुँदा खाने हुन् सबैलाई राजधानीमा एउटा वासको व्यवस्था, दैनिक हात-मुख जोर्ने व्यवस्था साथै छोरा-छोरीलाई गाँस काटेर भ​ए पनि राजधानीमा नै अंग्रेजी बोर्डिङ स्कूलमा (सरकारी विद्दालयमा होइन​) पढाउने रहरको चाँजो-पाँजो मिलाउँदैमा आफ्नो जीवनको ५०-५५ औं वसन्त पार गरेको पत्तै हुँदैन रहेछ​। यसरी ऋण-धन गरि १२ कक्षा उत्तीर्ण गरेका ती कलिला ओठ निचरे दुध आउने १८-२० वर्षका गिलो माटो सरिका सन्तानमा परेको सामाजिक प्रभावले गर्दा बनाएको विदेश जाने सोच र छोरा-छोरीको इच्छा पुरा गर्ने बाबु-आमाको रहर, अस्वस्थ सामाजिक, पारिवारिक प्रतिस्पर्धा साथै देशको बढ्दो शिक्षित बेरोजगारिले गर्दा छोरा-छोरी विदेश पठाउने हामी जस्ता कैयौं परिवार छन्। यसरी छोरा-छोरी उच्च शिक्षा अध्ययनको लागि विदेशिए पछि उच्च शिक्षा हासिल गरी फर्केर आउने दिनको स्मरण गर्दै बस्ने परिवार अनगिन्ति छ्न्।

विस्तारै-विस्तारै पारिवारिक जमघटमा, आफ्नो कार्य क्षेत्रको प्रगतिको खुशीयालीमा, जन्मदिनहरुमा, दशैँ, तिहार, होलि, ल्होसार जस्ता थुप्रै पर्वहरुमा आफ्नो बढ्दो उमेर र उनीहरू फर्कने सम्भावना न्यून भ​एपछि ति परिवारहरुलाई एक्लोपनको अनुभूति हुन थाल्यो। सामाजिक संजालमा फोटो हेरि गफ गर्नुनै अवकासित जीवनको दैनिकी भ​एको देखिन्छ​। आजको जस्तो संचारको विकास नभ​एका दिनमा त विदेशमा भ​एका आफन्त छोरा-छोरीसँग कुरा गर्नपनि कठिन थियो। भिसा दिएछ भने बाबु-आमा वर्ष- दुईवर्षमा एकचोटी गयो, ४-५ महिना बस्यो अनि फर्कियो। बस यहि जीवनको अभिन्न कार्य बनेको देखिन्छ​। प्रत्यक्ष रूपमा बसेर साट्न नपाएका खुशीका क्षणहरुलाई सम्झेर आँखाका परेली भिजाइ बस्यो। यहि नै आज-भोलीको समाजमा देखिँदै छ​।

हामी जतिसुकै जात धर्म र भौगोलिक क्षेत्रका भएपनि आफ्ना छोरा-छोरी परिवार हुने परिवारको यहाँ जे-जस्तो कथा-व्यथा छ उता बस्ने छोरा-छोरी वा परिवारको सदस्यको कथा-व्यथा र अवस्था पनि उस्तै छ​। उच्च शिक्षा अध्ययन गर्न ग​एका केटा-केटीको उच्च शिक्षा पुरा भ​एपछि हुने दिक्षान्त समारोहमा विभिन्न कारणवस आफ्ना बाबुआमाको आशिर्वाद साथै सामिप्यता नपाउँदा हामीलाई जतिकै तीनलाई पनि नरमाइलो लाग्दो हो। यहिँको आफ्नो धर्म​, रितीरिवाज र चाडपर्व आदि मनाउँदै हुर्केका उनीहरूलाई पनि विरानो ठाउँमा बस्दा यहाँ भ​एकालाई भन्दा बढी सम्झनाले सताएको छ​। आमाको माया मिसिएको परिकार, बाबुको स्नेह, दशैँको नयाँ लुगा, पिङ्ग, चङ्गा, तिहारको दिपावली देउसि, भैलो, ल्होसार​, होलि जस्ता अनगिन्ति हाम्रा पर्वहरुको सम्झनाले मन अँध्यारो हुन्छ​। शरीर उता मन यता हुन्छ​। हाम्रा यस्ता पर्वहरू विदेशीले नमनाउने भ​एकोले चाडपर्वको सामाजिक वातावरण त बन्दैन बन्दैन, झन् बिहान देखि बेलुका सम्म अध्ययन र काममा व्यस्त हुँदा कहिले काँहि त के चाड के पर्व भै दिन्छ​। १८-२० वर्षको विद्दार्थी बिदाको दिन चाडपर्व परेमा साथी-भाइसँग रमायो सकियो तर आज कतिको विवाह भ​एर एक नयाँ परिवारको निर्माण भएको छ​। ती नयाँ पुस्तालाई पनि आ-आफ्नो संस्कृति, चाडपर्व​, रिती-रिवाज सिकाउनु छ​। १८-२० वर्षमा कति नै सामाजिक, धार्मिक्, सांस्कृतिक ज्ञान लिन सकेको हुन्छन र? त्यसैले आफ्नो घर देशमा छुटेको परिवारको सम्झना आउँछ​, मन दुख्छ​। मनले हर दिन स्वदेश फर्काउँछ​। “जननी जन्म भूमीश्च स्वर्गादपी गरियसी” कुन नेपालीको मनमा छैन र​? कसलाई रहर हुन्न आफ्नो जन्मभूमीमा आफ्नो सम्पूर्ण आत्मियजनको सामिप्य्तामा रमाउन्। तर आफ्नो देशमा औद्दोगिक, पर्यटन, आधुनिक कृषि जस्ता कुनै पनि व्यवसायको बिकास न्यून भएको कारण कुनै पनि क्षेत्रमा रोजगारी पाउने सम्भावना पनि अति न्युन र अति कठिन भएकोले उच्च शिक्षा अध्ययन पछि स्वदेश फर्कने वातावरण नेपालमा नबनेकोले परदेशमा नै बस्न बाध्य बनाउँदो रहेछ​। यस्ता विभिन्न कारणले गर्दा नेपाली छोरा-छोरीको नेपाली सन्तानहरू, नेपालका भविष्यहरू, नेपाली आँगनमा रमाउनको साटो नेपाली मूलका भनेर विश्वमा चिनिने अवस्था आउने टड्कारो देखिन्छ​।

मैले यी माथीका तिता यथार्थ विचारहरु व्यक्त गरिरहँदा कुनै एक परिवारको मात्र गरेकी हैन। विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने लाखौं परिवारको पीडा व्यक्त गरेकी हुँ। यहाँ उल्लेख गरेका पीडा त केहि हैन​, सामान्य हुन्। विदेशमा बस्ने कागजपत्र बनेका देखि कागजपत्र नबनेका सम्मको यस्ता अनगिन्ति जटिल भन्दा जटिल पीडा छन् हरेक परिवारमा, जुन लेखि साध्य छैन​। १८-२० वर्षका कलिलो उमेरमा उच्च शिक्षा अध्ययनको लागि विदेश ग​एका छोरा-छोरी पढि लेखि ठूलो मान्छे भ​एर आएको हेर्न बसेका बाबु आमाको आँखामा जालो लागि सक्यो। विभिन्न परिस्थितीले छोरा-छोरी फर्किने कुनै सम्भावना छैन​। बाबु-आमाले खाइ नखाई गरेर जोडेको घर-खेत, धन-सम्पत्ति यता अलपत्र भ​एका छ्न, उता छोरा-छोरीले सिमित आयमा घर भाडा दैनिक जीविको पार्जन, स्वास्थय, शिक्षा, आदिको खर्च जुटाउन ऋण बोकिरहेका छन्। पैराणिक कालमा भगवान श्री रामचन्द्रपनि अध्ययन पश्चात घर फर्केका थिए। चाणक्यले त उच्च शिक्षा अध्ययनबाट फर्केर देश विकाशमा जीवन अर्पेका थिए। हाम्रा अग्रजहरु पनि विद्दा अध्ययन गर्न बनारस आदि ठाउँमा ग​एका थिए तर अध्ययन पश्चात घर फर्केर घरगृहस्थी सम्हालेका थिए। आफन्त परिवारको सामिप्यतामा थिए। एक्ला थिएनन्। मर्दा-पर्दा आफन्त जम्मा हुन्थे र आर्थिक, सामाजिक, मानसिक तथा पारिवारिक रूपमा टेवा दिन्थे। तर आज ! के चाड के पर्व घर-घरमा मुठ्ठी पकाए भात, मानु पकाए भतेर भ​एको छ​। १८-२० वर्षको कलिलो उमेरमा आमा-बाबु र आफन्त प्रियजनको काख र साथ छोडेर केहि उदेश्य बोकेर विश्वको आकाशमा रमाउँदै हेलिए। आमा-बाबु आफन्तले पनि पखेटा लागेका बचेरालाई गुँडमा राख्न भन्दा स्वच्छ आकाशमा उँड्न दिनुमा नै खुशी ठाने। दुवैको विचार मिल्यो उडे, उडाए तर कहिले सम्म आकाशमा हेलिने भन्ने कुरा हो? राजिखुशी उडेका ति नवयुवकहरुको अवतरणको पर्खाइमा आशाको दियो बालेर बसेका बाबु-आमाको आशा पूरा गर्न कस-कसले के-के भूमिका खेल्नु पर्ने हो सो भूमिका सबै पक्षबाट खेलिएको खन्डमा बाबु-आमा लगायत आफन्त प्रियजनको मन र मुहारमा खुशीको ज्योति फेरि एक-पटक बल्ने थियो। यसको लागि सबै पक्षलाई अग्रिम शुभकामना।