गण्डकी प्रदेश

ग्रामीण सडकमा कालोपत्रे

तनहुँ, २७ भदौ । जिल्लाको व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ । सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो । सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हुँदै पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ ।

सो सडकमा यसअघि ग्राबेल, नाला निर्माण र आवश्यक स्थानमा ह्युमपाइप राखेर यातायात सञ्चालन भएको थियो । विसं २०४८ पछि कच्चीमार्गको रुपमा सडक चलेपनि कालोपत्रे नहुँदा वर्षामा हिलोले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । नगरपालिकाको १४ नं वडा केशवटारस्थित रुम्सी ढाक्रेस्वाँरा चोकदेखि आँपटोल डाँडासम्म करिब ६०० मिटर दूरी कालोपत्रे गर्न थालिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको समानीकरण बजेट व्यास नगरपालिकामार्फत आएपछि सडक कालोपत्रे थालिएको हो । उनले भने, “कात्तिक मसान्तभित्र उक्त दूरीमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।” रु एक करोड २५ लाखको समानीकरण बजेट विनियोजन पश्चात कालोपत्रे कार्य थालिएको हो । गण्डकी प्रदेश सरकारबाट उक्त मार्ग कालोपत्रे गर्नका लागि गत वर्ष डेढ करोड र यसवर्ष सवा करोड विनियोजन गरेपनि टेण्डर नै नगराई काम रोकिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

गतवर्ष र यसवर्ष बजेट विनियोजन गरी काम नगरेपछि स्थानीयवासी डेलिगेशन जाने तयारीमा जुटिरहेको उनले बताए । व्यास नगरपालिकाद्वारा विनियोजित रु एक करोड बजेट रकमले दमौली बजारबाट केशबटार जाने उक्त सडक मार्गको पनि कालोपत्रे कार्य थालिएको छ ।

दमौली–केशवटार गुदीफच्याङ मार्गको करिब १४ किलोमिटरमध्ये हालसम्म करिब ४ किलोमिटर सडक मार्ग कालोपत्रे सम्पन्न भैसकेको बताइएको छ ।