मनोरञ्जन

लघु चलचित्र ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट

२६ भदौ, काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रशुन सिन्धुलियाले निर्माण गरेको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिएको उक्त चलचित्रका निर्माता सिन्धुलियालाई रु दुई लाख नगद तथा प्रमणपत्र प्रदान गरे । प्रतियोगितामा पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त बस्नेतले निर्माण गरेको ‘लक्ष्य’ तृतीय घोषित भयो । प्रतियोगितामा दोस्रो र तृतीय हुने चलचित्रले क्रमशः एक लाख ५० हजार र एक लाख नगद र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा अनिरुद्र दुवाडीको ‘समर्पण’ र अनिलकुमार महर्जनको ‘गौरव’ नामक लघु चलचित्र सान्त्वना घोषित भए । समारोहमा सान्त्वना स्थान प्राप्त गर्ने चलचित्रलाई २५÷२५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त प्रतियोगिताका लागि ३८ वटा निवेदन प्राप्त भएकामा छायाङ्कनपछि १० वटालाई प्रतिस्पर्धामा समावेश गरिएको निर्णायक समूहका संयोजक एवं चलचित्र अभिनेतृ सरिता लामिछानेले जानकारी दिए। समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने चलचित्र प्रदर्शन गरियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २०६७ देखि यो प्रतियोगिता गर्दै आएको छ ।