सूचना प्रविधि

संविधान दिवसबारे जनचेतनामूलक कार्यक्रम प्रकाशन/प्रसारण गर्न अनुरोध

२४ भदौ, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संविधान दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम प्रकाशन/प्रसारण गर्न आमसञ्चारमाध्यमलाई अनुरोध गरेको छ । आगामी असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा गठित प्रचारप्रसार उपसमितिको बैठकले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्रका साथै सामुदायिक एंव निजी क्षेत्रका अन्य सञ्चारमाध्यमलाई समेत संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवादलगायत जनचेतनामूलक कार्यक्रम प्रकाशन/प्रसारण गर्न अनुरोध गरेको हो ।

राष्ट्रिय समाचार समितिलाई राष्ट्रिय दिवससम्बन्धी विशेषाङ्क/स्मारिका, लेख वा कार्यक्रम उत्पादन/निर्माण गरी सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउन भनिएको छ ।  समितिले गोरखापत्र, द राइजिङ नेपाललगायत राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क/स्मारिका र संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेखरचनाको संँगालो प्रकाशन गर्नाका साथै अन्य निजी क्षेत्रका सञ्चारगृहलाई प्रकाशन गर्न पनि आग्रह गरेको छ ।
बैठकपछि मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल टेलिभिजन, रेडियो नेपालले नेपालको संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण गर्ने तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चारमाध्यमलाई पनि कार्यक्रम प्रसारणका लागि अनुरोध गर्ने ।’
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकबाट “संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ” जस्ता नारा मास एसएमएस पठाउने निर्णय पनि गरिएको छ । दिवसको शुभकामना सन्देश शहरका विभिन्न स्थानमा रहेको डिस्प्ले बोर्डमा प्रसारण गर्न काठमाडौँ महानगरपािलकासँगको समन्वयमा दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ । बैठकले दिवसको दिन आआफ्ना घरघरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न भनी प्रसारप्रचार गर्न, जागरण गीत प्रसारण गर्न, वृत्तचित्र प्रसारण गर्न र मूल कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न पनि आमसञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।